• Saturday 25th of July 2026

महोत्तरीका किसान रोपाइँमा व्यस्त


  • गोकर्णेश्वर अनलाइन

महोत्तरीमा धान रोपाइँको गति बढेको छ । यही असारको पहिलो हप्तासम्म थोरै मात्र रोपाइँ भएको जिल्लामा पछिल्ला दिन किसानलाई रोपाइँको चटारो परेको छ । कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरीका अनुसार हालसम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

“असारे–१५ पर्व र १९ औँ राष्ट्रिय धान दिवस मनाइरहँदा हामी रोपाइँको गतिबाट चिन्तित थियौँ”, कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव भन्नुहुन्छ, “तर पर्वयता रोपाइँले गति लियो, असार १५ मा १० प्रतिशतमात्र भएको रोपाइँ आज २५ प्रतिशत पुगेको छ ।” अब असार अन्त्यसम्म शाही रोप (बीउ रोप) सकिने विश्वास जागेको उहाँको भनाइ छ ।

यसपालि असार लागेयता लगातार पानी पर्दै आए पनि त्यसअघि ब्याड राख्न नै ढिलो भएको हुँदा तयार बीउ (बेर्ना) पर्याप्त नहुँदा मध्य असारसम्म रोपाइँ सुस्त देखिएको कार्यालयको ठहर छ । क्रमशः ब्याडको बीउ तयार हुँदै गएपछि आमरुपमा जिल्लाभरि नै रोपाइँले गति लिएको जनाइएको छ ।

बीउको शाही रोप ढिलो भएपछि यसपालि खरुवन (कलम, बीउ रोपेर गाँजिएको रोपो फेरि उखेलेर रोपिने बीउलाई खरुवन भनिन्छ) रोप पनि साउन १५ पछि नै सुरु हुने देखिन्छ । बीउको रोपो कमसेकम एक महिनाको भएर राम्ररी गाँजिएपछि खरुवन बन्ने भएको हुँदा यसपालि यो रोप पनि अब एक महिनापछिमात्र सघन हुने किसान बताउँछन् ।

मधेसमा धानको मूल बीउ (बेर्ना) र खरुवन गरी दुई विधिबाट धान रोपाइँ हुँदै आएको छ । बीउको कमी भएका बेला खरुवनको रोप अलि बढ्ने स्वभाविक रहेको भङ्गाहा–४ रामनगरका किसान मोहन खाँ थारु बताउनुहुन्छ । पानीको अभाव भएन भने बीउको रोप असारभरिमा र खरुवन रोप साउनभरिमा सकिने सो बस्तीकै पाका किसान ७० वर्षीय इस्लाम राइनको भनाइ छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र स्थायी सिञ्चित भएको हुँदा अधिकांश खेती आकाशे पानीकै भरमा टिकेको छ ।

जिल्लामा कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टर रहेको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क अभिलेखमा उल्लेख छ । त्यसमध्ये ४५ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिदै आइएको कार्यालयले जनाएको छ । यद्यपि कार्यालयको यो तथ्याङ्कभन्दा अलि फरक स्थिति रहेको यहाँका अगुवा किसान बताउँछन् । “हाम्रो अध्ययन र ठहरमा जिल्लामा ७० हजार हेक्टर जग्गा खेतीयोग्य छ । त्यसमध्ये ५० हजार हेक्टरको हाराहारीमा धान रोप्न मिल्ने जग्गा छ”, अखिल नेपाल किसान महासङ्घका जिल्लाका नेता पर्शुराम ठाकुर भन्नुहुन्छ, “योमध्ये लगभग १० प्रतिशत जग्गा (छ हजार ९९५ हेक्टर) मात्र सिञ्चित र अरु सबै आकाशे पानीकै भरका हुन् ।”

जिल्लामा सरदर प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन धान उत्पादन हुने गरेको सरदर आँकडाविज्ञ सुनाउँछन् । यहाँका रैथाने जातिका धानमा बासमति, जसवा, सञ्जिरा र वानपाकीजस्ता मुख्य मानिन्छन् । त्यसैगरी विकसित जातका भनिने सावित्री, हर्दिनाथ–१ र २ ,स्वर्णा सव– १, साँवा सव– १, सुक्खा १, २ र ३, एवं भारतीय जातका सोना मन्सुली र कतरनी बढी लगाइने गरिएको वरिष्ठ कृषि विकास अधिकृत डा यादवको भनाइ छ । ।

जिल्लामा अहिले १६ वटा सिँचाइ आयोजनाबाट छ हजार ९९५ हेक्टरमा बाहै्रमास सिँचाइ उपलब्ध रहेको कार्यालयले जनाएको छ । त्यसैगरी हाल निर्माणाधीन अवस्थामा रहेका नौवटा सिञ्चाइ आयोजनाले थप पाँच हजार २३० हेक्टर जग्गामा छिट्टै सिँचाइ सुविधा पुग्ने केन्द्र प्रमुख डा यादवको भनाइ छ ।

जिल्लाका आम सर्वसाधारण किसानले भने कृषिसम्बद्ध कार्यालयका सेवा पाउन छाडेको दशक नाघिसकेको गुनासो गरेका छन् । बेलामा बीउ किन्न नपाइएको मात्र नभई सामान्य खेतीपातीका लागि कृषि प्राविधिकको सरसुझाव पनि पाउन छाडिएको किसान बताउँछन् । किसानलाई कृषि सेवा बढाउन जिल्लाका १५ वटै स्थानीयतहमा कृषि शाखा व्यवस्थित गरेमात्र आफूहरुले केही लाभ पाउनसक्ने जलेश्वर नगरपालिका–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डलको भनाइ छ । जिल्लामा कुनै स्थानीयतहले कृषि शाखा व्यवस्थित गर्नतर्फ रुची नदेखाउनुले यसप्रतिको उपेक्षा अड्कल गर्नसकिने किसानको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology