• Monday 27th of July 2026

भक्तपुरका ५३८ उम्मेदवारले बुझाए खर्च विवरण


  • गोकर्णेश्वर अनलाइन

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल ९२८ जना उम्मेदवार बनेकामा ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तहमा उम्मेदवार बनेका प्रत्येकले निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार अझै ३९० उम्मेदवारले खर्चको विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो । उहाँले असार मसान्तसम्ममा बाँकी उम्मेदवारले पनि खर्चको विवरण बुझाउने बताउनुभयो । सूचना अधिकारी बिसीले विवरण बुझाउनेहरुको विवरण रुजु गर्न बाँकी रहेकाले कुन दल, कुन स्थानीय तहका उम्मेदवार र निर्वाचित वा पराजित क–कसले खर्च विवरण बुझाएका हुन् यकिन गर्न बाँकी रहेको जानकारी दिनुभयोे । “समय अभावका कारणले खर्च विवरण बुझाउनेहरुको पार्टी, नगरपालिका र वडा केही छुट्याउन सकिएको छैन,” उहाँले भन्नुभयो, “आएको जति सबैको अहिले दर्ता मात्र गरिएको छ, अरू केही खुलाइएको छैन ।” सूचना अधिकारी बिसीले असार मसान्तसम्म पनि विवरण नबुझाउनेहरुलाई निर्वाचनसम्बन्धी ऐनअनुसार कारबाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology