• Monday 27th of July 2026

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो ।

सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गर्नुभएको थियो ।

यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावको नेकपा(एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको थियो ।

त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।

दुबै प्रस्ताव माथिको संयुक्त छलफलमा सांसदहरू खगराज अधिकारी, डा मिनेन्द्रप्रसाद रिजाल, जयपुरी घर्ती, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद यादव, चन्दा चौधरी, राजेन्द्र लिङ्गदेन, दुर्गा पौडेल, प्रेम सुवाल, शेरबहादुर तामाङ, चित्रलेखा यादव, रामकुमारी चौधरी र बिन्दा पाण्डेले भाग लिनुभएको थियो ।

छलफलको क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट उपसभामुख पदकी उम्मेदवार भट्टराईलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको थियो ।

तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology