• Saturday 25th of July 2026

बागलुङमा चिया उत्पादनको तयारी


  • गोकर्णेश्वर अनलाइन

तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार चियाका बोट छन् । उक्त स्थानमा तीन वर्ष लगाएर ६७ रोपनी जग्गामा चियाखेती थालिएको हो । पहिलो वर्ष लगाएको चियाको बोट काटछाँट गरेर टिप्नका लागि तयारी अवस्थामा छन् ।

रेशलाई चिया उत्पादनको ‘हब’ बनाउनका लागि चियामात्रै होइन, बिरुवासमेत उत्पादन गर्ने योजना वडा कार्यालयको छ । रेशले एक वर्षभित्र चियामात्रै होइन, चियाका बिरुवासमेत निर्यात गर्ने काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

“रेशमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा समेत समावेश छ, बिरुवा लगाउनका लागि यही परियोजनाले सहयोगसमेत गरेको छ”, उहाँले भन्नुभयो, “तीन वर्षमै उत्पादनको चरणमा आउला भन्ने सोचेकै थिएनौँ, अहिले पहिलोपटक लगाएका १० हजार चियाका बोटले उत्पादन दिन थालेका छन्, हामीले रेशमै ग्रिन चिया उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिएका छौँ भने चिया प्रशोधन औजारसमेत आइसकेको छ, हामीले प्राविधिकको आवश्यक परामर्शपछि चिया टिपेर प्रशोधन गर्न थाल्नेछौँ”, वडाध्यक्ष लामिछानेले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँमार्फत चियाका बिरुवा उत्पादनका लागि नर्सरीसमेत तयार भइसकेको बताउनुभयो ।

अहिले चिया प्रशोधन केन्द्र स्थापना र बिरुवा उत्पादनका लागि नर्सरी व्यवस्थापन भने स्थानीय रेश साना किसान कृषि सहकारीमार्फत भइरहेको छ । चियाका मुना तयार भइसकेको र चिया प्राविधिकको सल्लाहमा पहिलोपटक परीक्षणका लागि चिया टिपेर प्रशोधन गर्ने रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले जिल्लामा पहिलोपटक चिया उत्पादन गर्ने तयारीमा आफूहरू रहेको बताउँदै आगमी वर्षदेखि थप चियाका बोटले समेत उत्पादन दिँदै जाने बताउनुभयो ।

“यो वर्ष चियाको उत्पादन परीक्षण हुनेछ, चिया टिप्न तयारी अवस्थामा छौँ, तीन वर्षमै चिया दिन थालेपछि यहाँका स्थानीयवासी चियाखेतीतर्फ आकर्षित हुन थालेका छन्, बर्सेनि चियाका बिरुवा थप्दै जाने र उत्पादनसमेत बढ्दै जानेछ, आगमी तीन वर्षपछि ५६ हजार बिरुवाले नै चिया उत्पादन दिन थाल्नेछन् भने त्यत्तिकै मात्रामा नयाँ बिरुवा थपिनेछन्”, अध्यक्ष कार्कीले भन्नुभयो, “चियाको बिरुवा जति झाङ्गिँदै गयो त्यति नै उत्पादन वृद्धि हुने अपेक्षा छ, चिया प्रशोधन औजार आइसकेको छ भने चियाका बिरुवा उत्पादनका लागि टर्नेल स्थापना गरिसकेका छौँ, अब बिरुवा उत्पादन गरेर रेशमा रहेको सबै खाली जग्गामा लगाउनेमात्रै छैनौँ निर्यातसमेत गर्नेछौँ ।”

आर्थिक वर्ष २०७८÷७९ मा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँअन्तर्गत प्राप्त रु नौ लाख ५० हजारले चिया प्रशोधन औजार र नर्सरीका लागि टर्नेल निर्माण गरेको उहाँको भनाइ छ । हालसम्म रेशलगायत सिगाना र धम्जामासमेत ताराखोलास्थित गोल्डेन टि स्टेटमा उत्पादन भएको बिरुवा लगाउँदै आएकामा अबदेखि रेशमै बिरुवा उत्पादन गरिने छ ।

तीन वर्षअघि रेशको जनकल्याण आधारभूत विद्यालयको जग्गा र बौरको खाली जग्गामा चियाखेती थालिएको थियो । रेशमा चियाको राम्रो सम्भावना देखिएपछि सार्वजनिक जग्गामा मात्रै नभएर यहाँका व्यक्तिगत जग्गालाई समेत उपयोगमा ल्याउने वडा कार्यालयको लक्ष्य छ ।

चियाखेतीका लागि उच्च पहाडी र भिरालो जमिन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चियाखेतीतर्फको आकर्षण बढ्दो देखिए पनि रेशले आफूलाई व्यावसायिक बनाउँदै लगेको छ । रेशले भन्दा पहिला बागलुङ नगरपालिकाले वडा नं ८ सिगानामा चियाका बिरुवा लगाए पनि स्थानीयवासीले सक्रियता नजनाउँदा बिरुवा बढाउन सकेको छैन ।

जिल्लामा छ वर्षअघिदेखि व्यावसायिक चियाखेती थालिएको हो । पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटालगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टि स्टेट कम्पनीमार्फत व्यावसायिक चियाखेती थालिएको छ ।

कम्पनीले ताराखोला गाउँपालिका–१ सिरबारेमा ५६२ रोपनी जग्गामा चियाखेती थालेको छ भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत गर्दै आएको छ । परीक्षणका लागि ग्रिन टि उत्पादन गर्दै आएको कम्पनीले समेत चिया प्रशोधन औजार खरिद गरिसकेको छ । कम्पनीले छिट्टै चियाको व्यावसायिक उत्पादन थाल्ने योजना बनाएको छ ।

समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने चिया प्रविधिज्ञ बताउँछन् । माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने खुला भू–बनोटमा चियाखेती फस्टाउने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology