• Saturday 25th of July 2026

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’


  • गोकर्णेश्वर अनलाइन

असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् ।

“पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा रोपाइँ हुन सकेन”, बेनी नगरपालिका–९ का विमला सुवेदीले भन्नुभयो, “पानी पर्ला भनेर राम्रोसँग नपकाइकन मकै थन्क्याइयो, रोपाइँको तयारीका लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि खेत बाँझै छ ।”

पुलाचौरका नवीन बानियाँले पोहोर सालको तुलनामा त अहिले पानी नपरेका कारण सबै खेत बाँझै रहेको बताउनुभयो । “बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो, यसपटक धान उत्पादन नै मुस्किल हुने भयो”, उहाँले भन्नुभयो ।

उहाँहरुले जस्तै जिल्लाका धेरै किसानले वर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसान आकाशतिर हेर्दै भगवान् पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन, रोपाइँ भएका ठाउँमा पनि चिराचिरा परेर धाँजा फाटेको र रोपो मर्न लागेको किसानले बताएका छन् ।

“गाउँलेहरूले पानी देऊ भगवान् भनेर भजनकीर्तन गर्न थालेका छन्, तर पानी परेको छैन”, बेनी नगरपालिका–७ का शिव घिमिरेले भन्नुभयो, “ न समयमा मलबीउ पाइन्छ, न वर्षा हुन्छ, यसपटक धान उत्पादन राम्रो हुने लक्षण छैन ।” विगतका वर्षको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले भनेको समाचार आएपछि समयमै रोपाइँ सकेर उम्किएर बस्न भन्दै पूरा नपाकेका मकैसमेत कृषकले थन्क्याएर खेत खाली गरेका थिए ।

कुलो र नहरको सुविधा भएको, खोला तथा नदी तटीय क्षेत्र र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुनसकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेत पनि सिँचाइ समस्यामा पटपटी फुटेका किसानले बताएका छन् ।

“आकाशे पानीको भरमा भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन, धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ”, बेनी नगरपालिका–२ बगरफाँटका जीतबहादुर कार्की भन्नुहुन्छ, “झमझम पानी पर्ने समयमा दिनभरि टन्टलापुर घाम लाग्छ । चर्को घामकै कारण अलिअलि रसाउन लागेका मूल पनि सुकिसके । पानी पर्ने लक्षण नै छैन, के गरी रोपाइँ गर्ने हो ? अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने कुरै भएन ।”

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार आजसम्म जिल्लामा करिब ६८ प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानी अभावका कारण करिब आधा जति रोपाइँ भएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उहाँको भनाइ छ । सिङ्गा, बावियाचौर, बगरफाँट, रत्नेचौरलगायत राम्रो धान उत्पादन हुने क्षेत्रमा नै समयमा रोपाइँ भएको छैन । करिब ६८ प्रतिशत रोपाइँ भएको छ । थोपा–थोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका किसानले बताएका छन् । काम सकेर फुर्सदिला हुने समयमा किसान काम नै (रोपाइँ) गर्न नपाएर पिरोलिएर बसेका छन् । प्रमुख खाद्य बाली पनि धान नै भएकाले वर्ष दिन खानुपर्ने अन्नका अभावमा अबको वर्ष बित्ने हो कि भन्ने चिन्ता उनीहरूलाई लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology