• Saturday 25th of July 2026

वर्षात् नहुँदा रोपाइँ ढिलो


  • गोकर्णेश्वर अनलाइन

पूर्णरुपमा मनसुन सक्रिय नहुँदा रोपाइँ प्रभावित भएको छ । अघिल्ला वर्षमा यतिबेलासम्म लगभग रोपाइँ सकिन्थ्यो । कृषि ज्ञान केन्द्रका अनुसार यहाँ अझै २५ प्रतिशत रोपाइँ बाँकी छ । असार तेस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ भएकामा त्यसयता वर्षात् नभएपछि रोपाइँ ढिलो भएको हो ।

“बीचमा एक हप्ताजति सुख्खा दिन परे, आकाशे पानीमा भर पर्ने खेतमा किसानले रोपाइँ गर्न पाएनन्”, केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “केही दिनयता वर्षात् हुन थालेपछि किसानलाई केही राहत भने मिलेको छ, मौसमले साथ दिए साउन दोस्रो हप्तासम्ममा रोपाइँ सकिन्छ ।”

उहाँले जैमिनी नगरपालिकामा ६५ प्रतिशत र बलेवा क्षेत्रमा ६० प्रतिशत मात्र रोपाइँ भएको बताउनुभयो । ती ठाउँका खेतमा मकै बाली पाक्न ढिलो भएका कारणले पनि रोपाइँ पछाडि धकेलिएको उहाँको भनाइ छ । जिल्लाको अरु भागमा भने रोपाइँ सकिएको छ ।

सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । धेरै धान खेती हुने गलकोटको मजुवा फाँट, चिसापानी, ब्राहमुरी, आँगाखेतलगायत ठाउँमा गत जेठमै रोपाइँ सकिएको थियो । ती क्षेत्रमा बाह्रैमास सिँचाइको सुविधा छ ।

केन्द्रका अनुसार गलकोटसहित कुश्मीसेरा, खरबाङ, ग्वालीचौर, निसी, बुर्तिबाङलगायतका क्षेत्र छिटो रोपाइँ हुनेमा पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भएपनि ती ठाउँमा पहिल्यै रोपाइँ सुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् ।

जिल्लाको कुल छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये १० हेक्टरमा मात्र चैते धान लगाउने गरिएको केन्द्रले जनाएको छ । “यस वर्ष धान खेती हुने क्षेत्रफल बढ्ने अनुमान छ”, प्रमुख भट्टराईले भन्नुभयो, “उन्नतमा कम र स्थानीय जातकै धानमा किसानको बढी आकर्षण देखिन्छ ।”

परालको जोहो र चामलको स्वादका लागि किसानले स्थानीय जात रोज्ने गरेको उहाँको भनाइ छ । उन्नत धानतिर किसानलाई आकर्षित गर्न केन्द्रले बिउ वितरण, बिज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology