• Saturday 25th of July 2026

बागमतीमा कोभिडका सङ्क्रमित पुनः बढ्दै


  • गोकर्णेश्वर अनलाइन

मुलुकमा दुई हप्ता अघिदेखि कोभिड सङ्क्रमण पुनः वृद्धि भइरहेको छ । मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो सङ्क्रमणका बिरामी थप बढ्दै गइरहेका हुन् ।

बागमती प्रदेशभित्र कोभिडका बिरामीको सङ्ख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताउनुभयो । उहाँले भन्नुभयो, “यस सङ्क्रमणका बिरामी बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँ उपत्यकामा उच्च रहेका छ ।” प्रदेश नं १ मोरङमा पनि कोभिडका बिरामी बढ्दै गइरहेकाले महामारीलाई मध्यनजर गरी भीडभाड नगर्न तथा सभा अनि सम्मेलन एवं गोष्ठीमा भाग नलिनाका साथै स्वास्थ्य मापदण्ड पालना गर्न मुलुकवासीलाई दासले अनुरोध गर्नुभयो ।

मुलुकमा कोभिडका बिरामी बढेसँगै आफूहरुले सो महामारी निदानका लागि दुई हजार ८०० को हाराहारीमा आइसियू तथा एक हजार २७ भेन्टिलेटर एवं १५ हजार अक्सिजन सिलिण्डरका साथै १३२ अक्सिजन प्लान्टको जोहो गरिसकेको दासले जानकारी गराउनुभयो । “कोभिड कारण आर्थिक हानी मात्रै होइन् ज्यान जाने र केही मुलुकवासीमा मानसिक समस्या देखिएको छ, मुलुकवासी ४३ प्रतिशतमा डिप्रेशन तथा ३३ प्रतिशतमा चिन्ता र २९ प्रतिशत विद्यार्थीमा भने बढी निन्द्रा लाग्ने समस्या भेटिइरहेको छ”, उहाँले थप्नुभयो ।

३४ हैजाका बिरामी

मुलुकमा कोभिड महामारीसँगै ३४ जना हैजाका बिरामी भेटिएका सो शाखाका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “हैजाका बिरामी काठमाडौँ उपत्यकामा दुई र नुवाकोटमा ३२ गरी ३४ भेटिएका छन् ।” दुईदेखि ६९ वर्ष उमेर समुहका २० पुरुष र १४ महिलामा सो समस्या देखिँदा खानेपानी तथा सरसफाईमा विचार पु-याउन जरुरी रहेको गेलालले जानकारी गराउनुभयो ।

हवाइ यात्रा र नाकामा कडाइको व्यवस्था

मङ्कीपक्स विदेशी ७० मुलुकमा फैलिँदै गइरहेकाले मुलुकको हवाई यात्राका साथै नाकामा पनि कडाइको व्यवस्था हुनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी मुलुक भारतमा मङ्कीपक्स तीन केशका बिरामी देखिएकाले नेपालमा पनि स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरिन्छ ।” मङ्कीपक्स हालसम्म भने नेपालमा पुष्टि भइसकेको छैन तर, विदेश यात्रा गर्दा र विभिन्न नाकाबाट नेपाल भित्रिँदा स्वास्थ्य सावधानी नअपनाए छिट्टै नेपालमा भित्रिन सक्ने चेतावनी पौडेलले दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology