• Saturday 25th of July 2026

दूधमा आत्मनिर्भर बन्दै गण्डकी : बढ्दो महँगी किसानको चिन्ता


  • गोकर्णेश्वर अनलाइन

गण्डकी, १५ साउन (रासस): सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिनुभयो । “यहाँको मागको ९० प्रतिशत दूध गण्डकीमा उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “पछिल्ला वर्षमा गाईपालनतर्फ सर्वसाधारण आकर्षित बन्दै गएका कारण हामी आत्मनिर्भर बन्दै गएका हौँ ।”

आचार्यका अनुसार गण्डकी प्रदेशमा स्थानीय उत्पादनका अतिरिक्त चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट दूध आउने गरेको छ । गण्डकीको नवलपुरबाट अन्य प्रदेशमा दूध निर्यात हुने गरेको छ । प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्ला सदरमुकाममा दूधको खपत बढी हुन्छ । आचार्यले गण्डकीभित्र ठूला चार, मझौला आठ, साना २० र घरेलु १०० डेरी रहेको जानकारी दिनुभयो ।

दूधको सेवन गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएकाले दिनानुदिन माग बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । कोरोना कहरयता बढ्दो महँगी भने गम्भीर समस्याका रुपमा देखापरेको पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा किसान ठाकुर आचार्य बताउनुहुन्छ ।

विसं २०६६ पछि व्यावसायिक गाईपालनमा लाग्नुभएका आचार्यले अहिले दैनिक ५० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । उत्पादित दूधको बजारमा समस्या नभए पनि बढ्दो महँगीका कारण उत्पादनको लागत बढ्न गएको उहाँको भनाइ छ । आचार्यका अनुसार कोरोना कहर अघिसम्म रु आठ÷नौ सयमा पाइने चोक्कर अहिले रु दुई हजार २०० पर्ने गरेको छ ।

त्यस्तै रु ४० हजारमा एक ट्रिप पराल आउने गरेकामा अहिले भने रु ९० हजारदेखि रु ९५ हजारसम्म पर्ने गरेको उहाँले दुःखेसो सुनाउनुभयो । “बढ्दो महँगीसँगै गाईको दूधको लागत प्रति लिटर रु एक सय १० सम्म पर्ने गर्छ तर सरकारी निर्धारित मूल्य अनुसार किसानले ५७÷५८ रुपैयाँ मात्रै पाउने गरेका छन्”, उहाँले भन्नुभयो, “किसानका यी समस्यामा सरकारको ध्यान पुगेको छैन ।”

व्यावसायिकताको विकाससँगै कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको बाघमारा लगायतका स्थानले पछिल्ला समयमा राम्रो पहिचान बनाएका छन् ।
पछिल्ला वर्षमा व्यावसायिक रुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको सहरका रुपमा घोषित बनेको छ । दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यवसायिकतामा विकास भएको हो ।

विसं २०५७ पछि यस क्षेत्रमा गाईपालनप्रति आकर्षण बढ्दै गएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष विश्वेश्वर हरामी बताउनुहुन्छ । सुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेको यस ठाउँमा २०६१ साल भदौदेखि नीजिस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध सङ्कलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको उहाँले बताउनुभयो ।

सुरुमा २०५०÷५१ सालतिर तालचोकसम्म दूध पु-याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध सङ्कलन केन्द्रका रुपमा विकास भएको थियो । पछिल्ला वर्षमा चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ । बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology