• Monday 27th of July 2026

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।

उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नतामा राजस्वका दर हेरफेर गरेको समाचार सार्वजनिक भएपछि विवाद उत्पन्न हुँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत असार २२ गते पदबाट राजिनामा दिनुभएको थियो ।

सो विषयमा छानविन गर्न गठित संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएको थियो । त्यसपछि शर्मालाई आज पुनः मन्त्री पदमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology