• Saturday 25th of July 2026

दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग


  • गोकर्णेश्वर अनलाइन

दमौली अस्पतालमा स्वास्थ्यकर्मी र उपकरण माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाइएको छ । अस्पताल व्यवस्थापन समितिले स्वास्थ्यकर्मी र विभिन्न उपकरण उपलब्ध गराइदिन माग गर्दै मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाएको हो ।

अस्पतालमा हाल स्वास्थ्यकर्मी अभाव भएकाले नौजना स्वास्थ्यकर्मी माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । नौजना स्वास्थ्यकर्मीका लागि वार्षिक रु ४४ लाख ७२ हजार खर्च हुने अनुमान सहितको ज्ञापनपत्र मन्त्रीलाई बुझाइएको थापाले बताउनुभयो ।

उहाँका अनुसार एकजना स्त्रीरोग विशेषज्ञ, प्रयोगशालामा कल्चर गर्नका लागि विएमएलटी, एकजना रेडियोग्राफर, एकजना एनेसथेसिया सहायक, शल्यक्रियाका लागि दुईजना स्टाफ नर्स, एकजना फार्मेसी र एकजना स्वास्थ्य सहायक माग गरिएको छ । अस्पतालमा दुईजना हाडजोर्नी विशेषज्ञ रहेको र शल्यक्रिया सेवासमेत सञ्चालन गर्ने तयारी गरिएको छ । “तर त्यसका लागि पनि स्वास्थ्यकर्मी र उपकरण नभएकाले मन्त्रालयसँग माग गरेका छौँ,” थापाले भन्नुभयो ।

यसैगरी अस्पतालले विभिन्न उपकरण माग गरेको छ । अस्पतालमा अति आवश्यक रहेको रु दुई करोड मूल्य बराबरको इन्डोस्कोपी मेशिन माग गरिएको छ । “जनशक्ति छ तर उपकरण नभएकाले यो सेवा दिन सकेका छैनाँै,” थापाले भन्नुभयो ।

स्वास्थ्यमन्त्रीले स्वास्थ्यकर्मी र उपकरण उपलब्ध गराउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्री खापुङले अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि पनि पहल गर्ने बताउनुभयो । आफूहरुले स्वास्थ्यकर्मी र उपकरणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनका लागि अर्थमन्त्रीसँग पनि कुराकानी गरेको थापाले बताउनुभयो । १५ शय्या स्वीकृत अस्पतालले ५० शय्याको सेवा दिइरहेको छ । अस्पतालमा हाल दैनिक दुई सय ५० भन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । गर्मी मौसमका कारण भर्ना हुने बिरामीको सङ्ख्या २०÷२५ छन् ।

अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।

तनहुँका नदीमा जलसतह बढ्यो

सोमबार रातिदेखि परेको वर्षाका कारण तनहुँका नदीहरुमा जलसतह बढेको छ । निरन्तरको वर्षाका कारण तनहुँको दमौलीस्थित मादीसेती, बन्दीपुरको विमलनगरस्थित मस्र्याङ्दी नदी र देवघाटस्थित नारायणी नदीमा जलसतह बढेको हो ।

मादीसेती, मस्र्याङ्दी र नारायणीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी तटीय क्षेत्रमा माछा मार्न, दाउरा निकाल्न नजान स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ । देवघाटस्थित नारायणी नदीमा जलसतह सतर्कता केन्द्र नजिक पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलव तीन मिटरलाई सतर्कता र नौ मिटरलाई खतराको तह मानिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology