• Saturday 25th of July 2026

दुई सय ७१ सङ्क्रमित, एक जनाको निधन


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार नौ सय २० परीक्षणमध्ये दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सङ्क्रमण दर नौ प्रतिशत रहेको छ । एक हप्तामा छ जनाको निधन भएको छ । चाडपर्वमा हुनसक्ने भीडभाडमा सङ्क्रमण बढ्नसक्ने उहाँले बताउनुभयो ।

उपत्यकामा एक सय ४७ सङ्क्रमित

काठमाडौँमा उपत्यकामा एक सय ४७ जनामा सङ्क्रमण देखिएको छ । उहाँका अनुसार ललितपुरमा २९ भक्तपुरमा आठ र काठमाडौँमा एक सय १० जनामा सङ्क्रमित भएका छन् । आज एक सय ७५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत रहेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ९४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको उहाँले जानकारी गराउनुभयो । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालीकोट, हुम्ला, जुम्ला, बझाङ, डोल्पा र मुगु रहेका छन् । हाल होम आइसोलेसनमा तीन हजार ४६, संस्थागत आइसोलेसनमा एक सय ४८, सघन उपचार कक्ष (आइसियु)मा ४२ र भेन्टिलेटरमा आठ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology