• Sunday 26th of July 2026

अध्यक्ष दहालद्वारा कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले यहाँ आज आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित हुँदै पार्टीले गरेका कामलाई जनतासम्म पु¥याउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामी एउटा निर्वाचनको ब्याटलमा जाँदै छौँ, पार्टीको नीति भनेको सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट सङ्घर्ष गर्ने हो, त्यसो गर्दा आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ, र नयाँ उपलब्धि पनि हासिल गर्न सकिन्छ ।” संविधानका कतिपय विषयमा असन्तुष्टि हुदाहुँदै पनि नैतिक र राजनीतिक जिम्मेवारीलाई बहन गर्दै निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार ऐनहरु निर्माण गर्ने र समाजवादको यात्रामा जाने पार्टीको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।

पछिल्लो समय निर्वाचन प्रणालीमा देखिएका विकृति र विसङ्गतिलाई सच्याउने, सुधार गर्नेलगायत पार्टीको अभियान सुनाउँदै अध्यक्ष प्रचण्डले पार्टीको उद्देश्य र अभियानलाई सफल बनाउँदै निर्वाचनमा परिचालित हुन पनि निर्देशन दिनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “यी हाम्रा उद्देश्य, अभियानलाई सफल बनाउन तपाईंहरु क्रान्तिकारी फोर्सको रुपमा, अनेरास्ववियु क्रान्तिकारीको रुपमा वा स्वयंसेवकको रुपमा जनताको बीचमा पार्टीको मान्यतालाई स्थापित गर्न विशेष निर्देशन गर्दछु, तपाईंहरु टोलटोलमा पुग्नुपर्छ, गाउँगाउँमा पुग्नुपर्छ र जनतालाई एउटा नयाँ चेतनामार्फत जागरुक बनाउनुपर्नेछ ।”

जनवादी क्रान्तिलाई आफ्नै मौलिकतामा आफ्नै ढङ्गले पूरा गरेको बताउँदै उहाँले समाजवादी क्रान्तिको नयाँ चरण सुरु भएको र त्यसको नेतृत्व गर्ने जिम्मेवारी माओवादी पार्टीको काँधमा रहेको बताउनुभयो । अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमार्फत देशको राजनीति, क्रान्तिकारी आन्दोलन, देश र जनताको आवश्यकता, राष्ट्रिय स्वाधीनता, देशको आर्थिक विकास र समृद्धिलाई नयाँ उँचाइमा पु¥याउने योजना सुनाउनुभयो ।

माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले समाजवाद र संविधान कार्यान्वयनलगायत पार्टीको प्रष्ट एजेण्डासहित आगामी निर्वाचनलाई लक्षित गरी जनताको घरदैलोमा पुग्न आम कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले नेपालमा वैज्ञानिक शिक्षा र प्रविधियुक्त शिक्षाको कार्यान्वयनको निम्ति विद्यार्थी सङ्गठन अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सचिवद्वय लिलामणि पोखरेल र हितमान शाक्यले अब पार्टी पूर्णरुपमा निर्वाचन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियु (क्रान्तिकारी) ले उपाध्यक्ष अमरजङ्ग शाहीको नेतृत्वमा ९९ सदस्यीय निर्वाचन लक्षित क्रान्तिकारी फोर्सको घोषणा गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको चुनावलाई लक्षित गरी २५ सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology