• Saturday 25th of July 2026

आज थप दुई सय ३० जना सङ्क्रमित, दुईको निधन


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार आठ सय ३६ परीक्षणमध्ये दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार आज ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ ।

उपत्यकामा ४९ जना

यस्तै काठमाडौँ उपत्यकामा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । उहाँले ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौँमा ४२ जनामा सङ्क्रमण भएको मन्त्रालयका बताउनुभयो । उहाँले सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच पुगेको जानकारी दिनुभयो ।

यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जना पनि निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, मुगु र बझाङ रहेका छन् ।

यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय ८०, संस्थागत आइसोलेसनमा एक सय २५, सघन उपचार कक्ष (आइसियु)मा ३२ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप एक लाख ६५ हजार दुई सय छ जनाले लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology