• Saturday 25th of July 2026

स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा कतै बिरामी घटे, कतै बढे


  • गोकर्णेश्वर अनलाइन

झापा, २२ भदौ (रासस): स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका अस्पतालमा बिरामी घटेको छ । अन्यत्र भने बढेको पाइएको छ ।

अन्यत्र पठाउन अस्पतालका रुपमा रहेका निजी अस्पताल वरपरका साना सरकारी अस्पतालमा उपचार गराउने बिरामी घटेको पाइएको छ । सुविधासम्पन्न अस्पतालमा उपचार सेवा नपाउने भएपछि बिरामी घटेको पाइएको हो । विर्तामोडको शनिश्चरे अस्पतालमा बिरामीको सङ्ख्या घटेको अस्पतालका सिनियर अहेब अधिकृत डम्बर बल्भव मिश्रले जानकारी दिनुभयो ।

अन्यत्र पठाउन अस्पतालको रुपमा रहेका बिएण्डसीले बीमा कार्यक्रम बन्द गरेपछि शनिश्चरे अस्पतालमा उपचार गर्न बिरामीको सङ्ख्या घटेको उहाँले बताउनुभयो ।

“यहाँबाट हामीले बिएण्डसीमा बिरामी पठाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यहाँ राम्रो सेवा सुविधा पाइन्छ भनेर बिमित बिरामी पनि त्यही नै पठाउनु भन्थे । हामीले पनि त्यही गरेका थियाँै । तर अहिले उक्त अस्पताले सेवा नै बन्द ग-यो ।”

पहिले दैनिक छ सयको सङ्ख्यामा उपचार गर्ने बिरामी अहिले चार सय ५० को सङ्ख्यामा झरेको छ ।

झापामा सबैभन्दा बढी बिरामी उपचार गराएर बढी भुक्तानी पाउने अस्पतालको रुपमा शनिश्चरे अस्पताललाई लिने गरिन्छ । शनिश्चरे अस्पतालमा ९० प्रतिशत बीमाका बिरामी आउने गरेका अस्पतालका सिनियर अहेब अधिकृत मिश्रले जानकारी दिनुभयो । बीमा कार्यक्रमबाट अस्पतालले गत आर्थिक वर्षमा रु १३ करोड २२ लाख भुक्तानी प्राप्त गरेको थियो ।

विर्तामोडको बिएण्डसी, विराटनगरको नोवेल मेडिकल कलेज र विराट मेडिकलले गत साउनदेखि सरकारले बीमाबापतको रकम भुक्तानी नगरेकोले सेवा बन्द गरेका छन् । “हाम्रो नजिकैको बिएनसी अस्पतालमा बिमित बिरामीले धेरै सुविधा पाएका थिए”, उहाँले भन्नुभयो, “तर सेवा बन्द भएपछि बिरामीले सेवा नपाएपछि उपचार पनि गराउन आएका छैनन ।”

उहाँका अनुसार बिमित बिरामीले बिएनसी अस्पतालमा एमआरआई, सिटिस्क्यानलगायतका सुविधा पाउने गरेका थिए । सिनियर अहेब अधिकृत मिश्रले नजिकैको सुविधा सम्पन्न अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि मेची, कन्काई जस्ता अस्पतालमा बिरामी पठाउनु परेको बताउनुहुन्छ ।

मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टङ्क बारकोटी ठूला निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि आफ्नो अस्पतालमा हुने बिरामी बढेको बताउनुभयो । उहाँका अनुसार पहिला दैनिक चार सय बिरामी आउने गरेकोमा अहिले त्यो सङ्ख्या बढेर छ सय पुगेको छ । अस्पतालमा आउने बिरामीमध्ये ६५ प्रतिशत बीमाकै रहेका उहाँ बताउनुहुन्छ । अस्पतालमा दैनिक ८०० बिरामी आउने गरेका छन् । अस्पतालमा दीर्घरोगीका बिरामी धेरै उपचार गर्न आउने गर्दछन् ।

उहाँले स्थानीय तहले आर्थिक सहयोग गर्नुको साटो बीमामा प्रोत्साहन गरिदिए बिरामीलाई राम्रो हुने बताउनुहुन्छ । “स्थानीय तहले कोही गरिबको उपचार गर्नका लागि १० देखि १५ हजार आर्थिक सहयोग गर्दछन”, उहाँले भन्नुभयो, “तर त्यही रकम बराबरको पालिकाले बीमा गरिदिए वर्षभरि बिरामीको उपचार गर्न सक्ने थिए ।”स्वास्थ्य बीमाबापत अस्पतालले अहिलेसम्म २०७४ सालदेखि रु ११ करोड भुक्तानी पाएको छ । उहाँले समयमा नै भुक्तानी नपाउँदा उपचारमा समस्या रहेको बताउनुभयो । अस्पतालले अझै तीन करोड ८२ लाख भुक्तानी पाउन बाँकी रहेको छ ।

“समयमा नै भुक्तानी नपाउँदा औषधि पसललाई चैतसम्मको औषधिबापतको पैसा दिन सकेका छैनौँ,” उहाँले भन्नुभयो,“भुक्तानी दाबी गरेको १५ दिनभित्र दिनुपर्ने व्यवस्था भए पनि समयमा पैसा नदिँदा समस्या भएको छ ।”

निजीले बीमा कार्यक्रम बन्द गरेपछि अस्पतालमा भने सेवाग्राहीले पाउने एमआरआई जस्ता सुविधा पाउन सकेका छैन । प्रथम सेवा विन्दु अस्पतालबाट अन्यत्र भएर आएका बिरामीलाई बिएण्डसी अस्पतालले एमआरआई सेवा उपलब्ध गराउँदै आएको थियो ।

तर अहिले बिएण्डसीले बीमा कार्यक्रम बन्द गरेपछि बिरामीेले उक्त सेवा पाउन छाडेका छन् । एमआरआईका लागि बिरामी काठमाडौँलगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएपछि बिमितमा आफूमा केही छ कि भनेर परीक्षण गराँै कि भन्ने भावना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बाराकोटीले बताउनुभयो । पूरै शरीर, सुगर, मिर्गैला जस्ता रोगको परीक्षण गर्ने गरेका छन् । “आफ्नो पैसा जाँदैन परीक्षण गराम भन्ने धेरै छन्”, उहाँले भन्नुभयो, “बीमाले मानिसलाई स्वास्थ्य ख्याल राख्नुपर्दछ भन्ने गराएको छ ।”

अस्पतालले बिमितलाई एक हजार एक सय २० मध्ये चार सय प्रकारका औषधि उपलब्ध गराएको छ । झापामा सबैभन्दा छ लाख १० हजारजना बिमित रहेका छन् । झापामा पहिलो सेवा विन्दुका अस्पताल बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, दमक अस्पताल, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र, मेची अञ्चल अस्पताल, शनिश्चरे अस्पताल, शिवगञ्ज प्राथमिक अस्पताल केन्द्र र सुुरुङगा प्राथमिक स्वास्थ्य अस्पताल रहेका छन् ।

यस्तै बाहिर पठाउने अस्पतालमा बिएनसी अस्पताल, विर्तामोड आँखा अस्पताल, विर्तामोड नगर अस्पताल, बुद्धशान्ति अस्पताल, दमक अस्पताल तथा रिसर्च सेन्टर, कन्काई अस्पताल, लाइफलाइन अस्पताल, मेची जिल्ला आँखा अस्पताललगायत १३ वटा अस्पताल रहेका छन् ।

झापा स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी लक्ष्मी कँडेलले ८५ प्रतिशत बिमितले नवीकरण गराएको बताउनुभयो । उहाँले झापामा धेरै अस्पताल भएकोले पनि स्वास्थ्य बीमा कार्यक्रम तर्फ आकर्षण भएको बताउनुभयो । उहाँले निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि ती बिरामी सरकारी अस्पतालमा जाने गरेको बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology