• Friday 24th of July 2026

क्रिकेट कप्तान लामिछानेमाथि पक्राउ पुर्जी जारी


  • गोकर्णेश्वर अनलाइन

बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा लामिछानेउपर थप अनुसन्धान गर्नका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी जनाएको छ । लामिछाने लिग क्रिकेट खेलका सिलसिलामा हाल मुलुक बाहिर छन् ।

अपराध संहिताको दफा २१९, (२) मा कसैले कुनै महिलालाई महिलाको मञ्जुरी नलिइ करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

सोही दफाको ३ (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । उनीमाथि १७ वर्षीया नाबालिका अभिभावकले यही भदौ ६ गते जबर्जस्ती करणी गरेको आरोपसहित भदौ २१ गते मङ्गलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।

जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । जाहेरीपछि प्रहरीले ती होटलको सिसीटिभी फुटेज हेर्नेसहित विभिन्न अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology