• Saturday 25th of July 2026

पहाडमै पाइन थाले डेङ्गुका बिरामी


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।

उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ ।

“पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्” सम्पर्क व्यक्ति जोशीले भन्नुभयो, “पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलावायु परिवर्तको असरसमेत प¥यो ।”

पहिला सर–सामान ल्याउनका लागि वर्षमा दुई–तीनपटक मात्रै पहाडी क्षेत्रका बासिन्दा तराई झर्ने गरेको उल्लेख गर्दै उहाँले पहिला औलो र डेङ्गुको त्यति खतरा नभएको बताउनुभयो । यातायातका साधनमा चहलपहल बढेसँगै लामखुट्टेले सार्ने रोगको जोखिमसमेत उत्तिकै बढेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको उहाँको भनाइ छ ।

“स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ । पहाडीसहित तराईका जिल्लामा जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ ।”

उहाँका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि विस्तारै घट्दै जान्छ । दुई–तीन वर्षअघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यसअघि डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो ।

डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन । अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायरलगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ ।

गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology