• Saturday 25th of July 2026

भदौ मध्ययता वर्षाः किसानलाई बाली भित्रिने आश


  • गोकर्णेश्वर अनलाइन

महोत्तरीसहितका मध्यपूर्वी तराईमा भदौ दोस्रो सातायता सम्यक वर्षा भएको छ । असार, साउन र भदौ पहिलो सातासम्म राम्ररी पानी नपर्दा खेती राम्रो लगाउन नपाएका किसानले भदौ दोस्रो सातायता बेलाबेला पानी परिरहेपछि राहतको महसुस गरेका छन् ।

भदौ ११ गतेयता प्रत्येक दुई÷तीन दिनमा पानी परिरहेको छ । महोत्तरीका अधिकांश भेगमा आज बिहान पनि पानी परेको छ । यसपालि असार÷साउनमा पानी राम्ररी नपर्दा किसानले चाहेजति धान रोप्न पाएनन् । बीउकै अभावले ठीक समयमा ब्याड राख्न नपाएका किसानले पछि पानीको अभावले गर्दा धान रोपाइँमा धेरै सास्ती व्यहोर्नुपरेको बताएका छन् ।

“इनारबाट पम्पसेट लगाएर पनि केही त रोपियो, तर वर्षा नै नभएपछि के साध्य हुनु ? पछि त पानीबेगर रोपो पहेँलिन थाल्यो”, साउनभरिको प्रचण्ड घाम सम्झँदै भङ्गाहा–४ का किसान रामसागर यादव भन्नुहुन्छ, “साउन मासमा धानखेतमा धजा फाटेको देख्दै वीरक्तिएका थियौँ, तर भदौ १० यताको पानीले त्राण भ¥यो ।” भदौ दोस्रो सातायता प्रत्येक दुई÷तीन दिनको फरकमा केही बेरकै भए पनि पानी परी रहँदा धानका बोट फिरेर अब बाला लाग्ने आश जागेको यादवको भनाइ छ । तर मल सहज उपलब्ध नहुँदा धेरै सास्ती खेप्नुपरेको आम किसान बताउँछन् ।

भदौ दोस्रो सातायताको बेलाबेलाको वर्षाले धानलाई मात्र नभएर रुखिएको माटोमा राम्ररी चिस्यान भर्दा उखु, तरकारी र फलफूलका बिरुवा पनि हलक्क बढेका किसान बताउँछन् । बेलाबेला पानी परेपछि चरन क्षेत्रमा ओइल्याएका दुबो र अन्य घाँसका झाम्टा पलाउन थालेका छन् । यसले पशुबस्तुको चरनमा निकै राहत दिएको पशुपालक किसानको भनाइ छ ।

यसपालि असार÷साउनमा पानी नपर्दा अपेक्षित धान रोपाइँ हुन सकेन । जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ५० हजार हेक्टर जग्गा धानखेतीका लागि योग्य मानिन्छ । यसपालि पानीकै अभावले धान रोपाइँ ६५ प्रतिशत नकटेको कृषि ज्ञान केन्द्र महोत्तरीका विज्ञकै स्वीकारोक्ति छ । यद्यपि किसान त धान ५०÷५५ प्रतिशतमात्र रोप्न सकिएको बताउँछन् ।

जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो÷नहरको सिँचाइ पुगेको छ । नब्बे प्रतिशत जग्गा त आकाशे पानीकै भरमा खेती गर्नुपर्ने अवस्था छ । यसपालि त असार÷साउनको खडेरीले सिञ्चित जग्गाका पानीका स्रोतका मुहान पनि सुकेर कुलोमा राम्ररी पानी नचलेको किसान सम्झिरहेका छन् । यसले गर्दा आफू मरिहत्ते गरेर लागे पनि पानी नभएपछि खेतीको काम कत्ति अघि नबढ्ने बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ ।

“जे होस्, भदौका पछिल्ला तीन साता चाँही ठीकै रहे, बेलाबेला पानी परेर चिस्यान मर्न दिएको छैन”, कुशवाहा भन्नुहुन्छ, “ईश्वरका भरको पानीमा खेती चलाउने हाम्रो नियति नै बनेको छ, हेर्नोस् न, यसो राम्ररी पानी परीदिँदा खुसी हुँइन्छ ।” यसपालि सम्यक वर्षा पहिले नहुँदा धान उत्पादन भने निकै घट्न सक्ने किसान बताउँछन् । “रोपो फिर्ने बेला (रोपिएलगत्तै पाँच÷सात दिनमा रोपो हरियो हुने प्रकृया) र गाँजिने बेला न पानी पायो, न मल नै”, भङ्गाहा–३ कटैयाकी किसान रामराजी यादव भन्नुहुन्छ, “अब अहिले वर्षाले थोरै आश जगाएको छ, हण्डर खेपेरै भए पनि अलिअलि मल पनि पाइएको छ, केही त फल्छ होला ।”

यसपालि बर्सातको मौसम मानिने असार, साउनमा निकै कम पानी परेकाले किसानले अपेक्षित रोपाइँ गर्न नसकेका हुन् । धान गोडमेल र नाइट्रोजन मल रोपोमा हाल्ने बेला भदौको पहिलो साताभरि तातो बतास चलेर खेत झन रुखिँदा काममा समस्या परेको थियो । पछिल्लो वर्षामा धान गोडमेल गर्न पाइएको किसानले बताएका छन् । थोरैतिनो नाइट्रोजन (युरिया) मल पनि हाल्न पाइएको हुँदा अब धान चाँडै हलक्क बढेर पोटाउने किसानको आश छ । अहिले लामो प्रतीक्षापछि पानी पर्दा किसानलाई चाडबाड आएजस्तै खुसी मिलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology