• Saturday 25th of July 2026

मिर्गौला रोग : डायलासिसभन्दा प्रत्यारोपण किफायती


  • गोकर्णेश्वर अनलाइन

नेपालमा प्रत्येक वर्ष दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको र ९९ प्रतिशत पूर्ण सफल भएको बताइन्छ ।

सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गरेपछि मिर्गौला फेल भएर अब कुनै पनि नागरिक अकालमा मर्न नपर्ने र यसका लागि राज्यलाई भार परे पनि देशले स्वस्थ नागरिक पाएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ बताउनुभयो ।

नेपालमा पाँच वर्षअघि सुरु गरिएको प्रत्यारोपण सेवामा हालसम्म एक हजार जनाको सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ । काठमाडौँबाहेक पोखरामा समेत गत असारदेखि सो प्रत्यारोपण सेवा सुरु भएकामा हालसम्म तीन जनाको प्रत्यारोपण गरिएको र छिट्टै सुर्खेतमा पनि सेवा विस्तारको तयारी भएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार साँझ पोखरामा आयोजना गरेको मस्तिष्क मृत्युपश्चात् हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विज्ञेषज्ञ डा श्रेष्ठले प्रत्यारोपणपछि बिरामी र परिवारले गुणस्तरीय जीवन जीउन पाउने भएकाले डायलासिसभन्दा प्रत्यारोपण बढी किफायती रहेको बताउनुभयो ।

निःशुल्क डायलासिस सेवा उपलव्ध हुँदा बिरामीको झुकाव यसमा बढी पाइएकाले सरकारले विसं २०७४ वैशाख २ देखी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पूर्णरुपमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरिएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डायलासिसमा बस्दा बिरामी र बिरामीका परिवार सधैं अस्पताल आउने जाने गर्दा अत्यन्त कष्टकर जिन्दगी बिताउनुपर्ने हुन्छ । प्रत्यारोपणपछि राष्ट्रलाई उत्पादनशील नागरिक प्राप्त हुने, बिरामी दीर्घायु हुने र राष्ट्रलाई आर्थिक भार पनि कम पर्ने भएकाले प्रत्यारोपण कार्यलाई निःशुल्क गरिएको हो ।”

डायलासिस मेसिन तथा उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने कारणले नियमित सञ्चालनका लागि राज्यलाई वार्षिक रु दुई अर्ब ५० करोडभन्दा बढी आर्थिक भार पर्ने गरेको बताइन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नहुँदा बर्सेनि रु छ अर्ब रकम देश बाहिर जाने गरेको थियो । स्वदेशमै सेवा सुरु भए पनि विदेश जाने प्रवृत्तिमा अझै कमी आउन नसकेको बताइन्छ । नेपालमै विश्वको उत्कृष्ट प्रत्यारोपण सेवा रहेको केन्द्रको भनाइ छ ।

केन्द्रबाट वर्षमा अधिकतम दुई सयसम्मको मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता रहेको र पाँच सयको प्रत्यारोपण माग हुने बताइन्छ । सरकारले पछिल्लो समय प्रत्यारोपण कानुनमा परिमार्जन गरेपछि अङ्गदानको दायरा फराकिलो भई नाता पर्ने जति सबैबाट अङ्गदान हुनसक्ने व्यवस्था गरेपछि मिर्गौला प्रत्यारोपण सेवाले थप गति लिएको र अङ्ग अभाव कम भएको केन्द्रका विशेषज्ञ डा निभाष श्रेष्ठले बताउनुभयो ।

नेपालमा बर्सेनि एक हजारको सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु हुने गरेका तथ्याङ्क छ । दुर्घटनाबाट भएको मानव मृत्युले प्रत्यारोपण गर्न सकिने अङ्ग खेर गएकाले यसको सदुपयोग गर्न अङ्गदान सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मानिसको मृत्युपछि खेर जाने मिर्गौला, फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र प्याङ्क्रियाजको प्रत्यारोपण गर्न सकिने विशेषज्ञको भनाइ छ । एक जना व्यक्तिबाट खेर जाने अङ्गबाट आठ जनालाई नयाँ जीवन सम्भव भएको बताइन्छ ।

मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरुपमा मृत घोषित गरे पनि यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अङ्ग निकालेर बिरामीमा प्रत्यारोपण गर्न सकिने कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । मस्तिष्क मृत्युपछिको अङ्ग दान, कुनै पनि व्यक्तिको मृत्यु अस्पतालको आइसियुमा भई मस्तिष्क मृत्यु घोषणापछि मात्र सम्भव हुन्छ । घरमा मृत्यु भएको व्यक्तिको अङ्गदान मरणोपरान्त अङ्ग दान सम्भव नहुने बताइन्छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सरकारले आधारभूत स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पु-याउने लक्ष्य राखे पनि देशभर अझै आधारभूत स्वास्थ्य सेवा विस्तारमा सफल हुन नसकेको बताउनुभयो । उहाँले प्रत्यारोपण सेवा अत्यन्त महत्वपूर्ण रहेकाले राजधानी बाहिर विस्तारका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology