• Sunday 26th of July 2026

विकासका लागि अनुसन्धानमा आधारित नीतिको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि मुलुकको सर्वाङ्गीण विकासका लागि गहन अध्ययन अनुसन्धानमा आधारित नीतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ ।

अनुसन्धानमा आधारित नीति बनाउन अनुसन्धानमूलक संस्थाको अत्यन्त महत्वपूर्ण योगदान हुने जनाउँदै उहाँले नेपाल जस्ता विकासोन्मुख राष्ट्रको विकासमा नीति अनुसन्धान प्रतिष्ठान जस्ता अनुसन्धानमूलक संस्था अर्थात् ‘थिङ्क ट्याङ्क’हरुको भूमिका अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा कार्यव्यस्तताका कारण भौतिकरूपमा उपस्थित हुन नसकी लिखित शुभकामना प्रेषित गर्नुभएका उहाँले समस्या समाधान गर्न धरातलीय यथार्थ र प्रमाणमा आधारित तथा दूरगामी सोचसहितका सार्वजनिक नीतितर्जुमा कार्यान्वयन हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

“यस्ता नीतिले मात्र नेपालको संविधानले निर्दिष्ट गरेअनुरूप जनताका आवश्यकताको परिपूर्तिका साथै सुशासनको अभिवृद्धि गरी मुलुकको सर्वाङ्गीण विकासमा योगदान दिन सक्छन् । मुलुकमा लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको संरक्षण गर्दै जनअपेक्षा सम्बोधन गर्न व्यावहारिक विश्वसनीय, गुणस्तरीय र कार्यन्वयनयोग्य नीतिको आवश्यकता पर्दछ र यस्ता नीति तर्जुमा गर्न गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्दछ । यही आवश्यकतालाई महसुस गरेर नै नेपाल सरकारले स्वायत्त प्रकृतिको नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको हो”, प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा प्रतिष्ठानले अनुसन्धानमा आधारित नीति तर्जुमामा अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिँदै उहाँले प्रतिष्ठानको क्षमता विकास र सुदृढीकरणका लागि नेपाल सरकारले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले आगामी दिनमा देशको आवश्यकता र यथार्थलाई मध्यनजर गरी मुलुकको विकासमा रूपान्तरणकारी परिवर्तन ल्याउनसक्ने नीति तर्जुमा गर्न तथा समयसयममा विभिन्न महत्वपूर्ण विषयमा सरकारलाई मार्गनिर्देश दिने किसिमका नीतिगत पृष्ठपोषण प्रदान गर्न सकोस् भन्दै प्रतिष्ठानको प्रगतिको कामना गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology