• Sunday 26th of July 2026

लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकताः अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र संविधानको रक्षा आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । आर्थिक विकास र समृद्धि आफ्नो प्राथमिकता भएको भन्दै उहाँले भन्नुभयो, “चाहेको भए विसं २०७४ को निर्वाचनपछि पाँचैँ वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो ।”

प्रधानमन्त्री मुख्य होइन भन्दै उहाँले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र आफूलाई त्यसका निम्ति समर्पित गर्ने प्रतिबद्धता रहेको बताउनुभयो । आउँदो समय सम्वृद्धिको दशक भएको भन्दै उहाँले अबको क्रान्ति आर्थिक हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “जीवनको उत्तरार्धको बाँकी समय आर्थिक सम्वृद्धि र क्रान्तिका लागि लाग्छु ।” अर्बौका परियोजना कसरी नेपाल ल्याउन सकिन्छ र हामीकहाँ भएको प्राकृतिक साधन स्रोतको सही उपयोग गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहेको उहाँका भनाइ थियो । उहाँले भन्नुभयो, “एउटा नयाँ क्रान्ति समाजवादका निम्ति, सामाजिक न्यायका लागि गर्ने परिकल्पना गरिएको छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ज्येष्ठ पत्रकारका लागि कल्याणकारी कोष, नेपाल पत्रकार महासङ्घको भौतिक पूर्वाधारमा सहयोग, तालिम केन्द्रका लागि जमिन, लोककल्याणकारी विज्ञापन, लेखन वृद्धिका लागि बजेट लगायतमा महानगरले सहकार्य गरेको बताउनुभयो । सोही अवसरमा (नेकपा एमा)ले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी चितवनका उपाध्यक्ष अरुणपीडित भण्डारी, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology