• Saturday 25th of July 2026

पसाउने बेलाका धानमा ‘मेली बग’ समस्या


  • गोकर्णेश्वर अनलाइन

“अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो”, तनहुँको म्याग्दे गाउँपालिका–७ निवासी कोपिला नेपालीले भन्नुभयो, “वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।”

छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उहाँको गुनासो छ । “गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन”, उहाँले भन्नुभयो, “प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन ।”

सोही ठाउँ निवासी कृषक गङ्गा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ । “वर्षभरि खाने धान हो, दुःख गरेर लगायौँ, यो वर्ष त मल अभाव पनि ज्यादा भयो”, उहाँले गुनासो गर्नुभयो, “रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ ।”

वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताउनुभयो । “वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ”, उहाँले भन्नुभयो । तनहुँको म्याग्दे गाउँपालिका–७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन् । धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।

रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन् । यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ ।

म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’ को समस्या देखिएको जानकारी दिनुभयो । “झट्ट हेर्दा जिङ्कको कमीले हुने राते रोगको प्रकोपजस्तो देखिने भएता पनि सुरुमा जिङ्क हाल्दा पनि सुधार भएन”, उहाँले भन्नुभयो, “हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौँ ।”

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उहाँले बताउनुभयो । “सुधार भएको ठाउँमा थप विषादी छर्किने र पूर्ण क्षति भएको धानखेतको क्षतिपूर्ति दिने गाउँपालिकाले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । यो रोगको समस्या तनहुँका अलवा चितवन र मोरङमा पनि देखिएको प्राविधिकले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology