• Saturday 25th of July 2026

अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या


  • गोकर्णेश्वर अनलाइन

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ । ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । “हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन ।” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो, “प्रदेश सरकारसँग एक सय एक शय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेस गरेका छौँ । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।”

उहाँले कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका छन् । अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि निजी अस्पताल भन्दा सस्तोमा उपचार हुने भएपछि अस्पतालमा टाढाका बिरामी पनि अस्पताल पुग्ने गरेको अध्यक्ष सोडारी बताउनुहुँन्छ ।

ल्याप्रोसकोपी सेवा, फिजिसियन, स्त्रीरोग सेवा, बालरोग विषेशज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा लगातका सेवा अस्पतालमा भएपछि टीकापुर बाहिर नेपालगञ्ज, धनगढीसम्म उपचारका लागि पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । टीकापुरमै उपचार पाइन थालेपछि चर्को एम्बुलेन्स खर्च, त्यहाँको बसाइँ खर्च बचेको अस्पतालमा उपचारका लागि आउनुभएका सेवाग्राही विक्रम चौधरी बताउनुहुन्छ ।

प्रदेशको सहरी विकास कार्यक्रम अन्तर्गत अस्पतालले व्यवस्थित पार्किङको व्यवस्थापन गरेको छ । अस्पतालको बाहिर सडकमा सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको बताउँदै पार्किङस्थल निर्माण भएपछि अस्तव्यस्त सवारीसाधन देखिन छोडेको अध्यक्ष सोडारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेको भन्दा अस्पताललाई व्यवस्थापन गर्दै लगेका छौँ ।”

चालू आर्थिक वर्षमा अस्पतालको प्रशासनिक र चिकित्सकको लागि आवास भवन निर्माण हुने भएको छ । अस्पतालले जमिनलाई बचाउने उद्देश्यले दोस्रो तलामा प्रशासनिक भवन निर्माणका लागि प्रदेशको सहरी विकास कार्यक्रम अन्तर्गत प्रक्रिया अगाडि बढेको बताउँदै चिकित्सकको आवास भवन निर्माणका लागि तिहार अगाडि नै प्रदेश सरकारले बोलपत्र प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

“अस्पतालको जनशक्ति व्यवस्थापनदेखि भौतिक संरचना निर्माणसम्ममा प्रदेश सरकारले सहयोग गर्दै आएको छ तर, अस्पतालको क्षमता बढाउने कुरामा भने प्रदेशले कन्जुस््याइँ गरेको जस्तो लाग्छ ।” अध्यक्ष सोडारीले भन्नुभयो,“अहिले अस्पतालमा शय्याको अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।”

अस्पतालले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि ‘रिफ्रेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ । जसमा प्लास्टिकजन्य फोहरलाई प्रशोधन गरेर पुनःप्रयोगमा ल्याउन सकिने छ, भने त्यसले फोहर व्यवस्थापनमा निकै ठूलो सहयोग मिल्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology