• Saturday 25th of July 2026

प्राकृतिक फाँट मयुङ : आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा


  • गोकर्णेश्वर अनलाइन

खोटाङ, १३ असोज (रासस) : चारैतिर घना जङ्गल । जङ्गलको बीच भागमा ठुल्ठूला दर्जनौँ घाँसे मैदान । प्राकृतिकरूपले मनोरम देखिने मयुङको फाँट तथा मैदानमा चौँरी, घोडा, गाईगोरु तथा हजारौँ भेडा चरिरहेका भेटिन्छन् ।

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी, भोजपुरको टेम्केमयुङ गाउँपालिका–१ तिम्मा र भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ दोभानेको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङको मनोरम दृश्यले त्यहाँ पुग्ने जो–कोहीको मन लोभ्याउने गर्छ ।

बाह्रै महिना ढकमक्क फुलिरहने विभिन्न प्रजातिका फूल, समथर घाँसेमैदान, पर्याप्त पानीको स्रोत, जडीबुटी तथा विभिन्न ठाउँको दृश्य सजिलै देख्न सकिने ठाउँ रहेको पर्यटकीयस्थल मयुङ समुद्री सतहदेखि तीन हजार तीन सय ३३ मिटर उचाइमा पर्दछ । मयुङबाट सर्वोच्च शिखर सगरमाथा, महालङ्गुर हिमाल, अरुण उपत्यका, मेरापिक, मकालु तथा बरुण राष्ट्रिय निकुञ्जलगायत तराईका फाँटको दृश्य देख्न सकिन्छ ।

झण्डै तीन हजार रोपनी क्षेत्रफल जमिनमा फैलिएको मयुङमा डाँफे, मुनाल, कालिज, चखेवा, मलेवा, ढुकुर, जुरेलीलगायत विभिन्न प्रजातिका चराचुरुङ्गी तथा गिद्ध, लोपोन्मुख जनावर रेडपाण्डा, बाघ, कालो भालु, चितुवा, मृग, हरिन, घोरल, थार, खरायोलगायतका वन्यजन्तुसमेत प्रत्यक्ष देख्न पाइन्छ । पशुपालनका लागि उपयुक्त घाँसेमैदान तथा पर्याप्त मात्रामा पानीको स्रोतसमेत रहेको पर्यटकीयस्थल मयुङमा दर्जनौँ चौँरीगोठ तथा गाईगोठ, उत्तिकै सङ्ख्यामा भेडीचोक रहेका छन् भने, करिब दुई सयको हाराहारीमा घर पालुवा घोडा चर्ने गरेका छन् ।

सिजन (मौसम)अनुसार विभिन्न प्रजातिका फूल ढकमक्क फुल्ने मयुङमा लालीगुराँस, चिमाल, रानीचाँप, घोगेचाँप, ढाप्ले, हिरिङ्गीलगायत विभिन्न प्रजातिका फूल पाइन्छन् । बाह्रै महिना एउटै रङ (निलो) पानी देखिने हाँसपोखरीका साथै आसपासमा ताराखसेपोखरी, सुकेपोखरी, बाहुनपोखरीलगायत साना–ठूला गरी दर्जनौँ पोखरी रहेको मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् ।

हरेक नयाँ वर्षको दिन ठूलो मेला लाग्ने मयुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक चरनमा रहेका घोडा चढेर विभिन्न ठाउँ डुल्न तथा भेडाको पाठापाठीसँग खेल्न अधिक रुचाउने गरेका छन् । तीन दिनसम्म लाग्ने मेलामा खोटाङका विभिन्न स्थानीय तह, छिमेकी जिल्ला भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, सुनसरीको विराटनगर, धरानलगायतका बासिन्दासमेत मयुङ आउने गरेका छन् ।

प्राकृतिकरूपले मनोरम एवं हरियाली देखिने मयुङ आसपास अन्य विभिन्न मनोरम दृष्य अवलोकन गर्न सकिने डाँडासमेत रहेका छन् । मयुङ नजिक रहेका चिलिमढुङ्गा, लौरेथुम, रावाधाप, जलजले, घ्याङखर्क, रमितेडाँडालगायत डुल्न र अन्य पर्यटकीय ठाउँको दृश्यावलोकन गर्न सकिने ठाउँ हुन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको मयुङमा बिखुमा, पाखनभेद, पदमचाल, भैरुङपाती, रानीतोहो, लोठसल्ला, पाँचऔले, चिराइतोलगायत बहुमुल्य जडीबुटी पाइन्छन् । मयुङमा पाइने जडीबुटी जिल्ला बाहिर निकासी गर्न सकेमा जिल्लाको आर्थिक उन्नतिमा सघाउ पुग्ने फेदीका बासिन्दा एवं युवा व्यवसायी धनकुमार राईले बताउनुभयो ।

खोटाङ, भोजपुर र सङ्खुवासभाको सिमानामा पर्ने सालपा पोखरी जाने बाटोमा पर्ने मयुङमा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मयुङ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सुविधायुक्त आवासको व्यवस्था गर्न सकेमा जिल्लालाई ठूलो मात्रामा आर्थिक आम्दानी हुने अनुमान गरिएको छ ।

मयुङमा पाइने घोडा चढेर घोडाटार, साउनेडाँडा, जोगीमारा, बतासे, नागी, मात्तिम, भुवानपोखरी, जलजलेपोखरी, ढुङ्गाखर्क, नौँलाखर्कलगायतका रमणीय ठाउँ डुल्न सकिने फेदीका स्थानीय बासिन्दा ज्ञानकुमार राईले जानकारी दिनुभयो । “पर्यटनको यतिका सम्भावना हुँदाहुँदै पनि मयुङको विकासमा राज्यको ध्यान पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “मयुङलगायत आसपासको क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्न सकेमा जिल्लाको मात्र नभई १ नं प्रदेशकै आर्थिक विकासमा सघाउ पुग्छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

पुस–माघमा हिउँ खेल्ने, चैत–वैशाखमा लालीगुराँस, चिमाल चाँप फुलेको हेर्न, असार–साउन र भदौमा चौँरी, भेडा, घोडा तथा गाईगोरुको बथान हेर्न तथा असोज–कात्तिकमा हिमाली शृङ्खला एवं टाढा–टाढाको दृश्यावलोकन गर्न पर्यटक मयुङ पुग्ने गरेका छन् । मयुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले त्यहाँ पाइने चौरीको घ्यू, छुर्पीलगायत दूधजन्य पदार्थ खरिद गरेर लैजाने गरेका छन् ।

पर्यटकीयस्थल मयुङ घुम्नका लागि यो सिजन उपयुक्त मयुङमा भेनिुभएका भेडापालक फेदीका लक्ष्मी साम्पाङ ‘समिप’ले बताउनुभयो । “मयुङ घुम्नका लागि यो सिजन (मौसम) उपयुक्त मानिन्छ, अहिले मयुङमा घुम्न दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “मयुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि ठाउँठाउँमा व्यवस्थितरुपमा गोठबासको समेत व्यवस्था गरिएको छ ।”

आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि मयुङमा एउटा गोठमा २० जनासम्म बास बस्न मिल्ने गरी गोठबास सञ्चालन गरिएको जनाइएको छ । गोठबासमा एक छाक मासुसँग खाना खाँदा रु पाँच सय तिनुपर्ने भेडापालक साम्पाङले जानकारी दिनुभयो ।

गोठबासमा चाँैरी, गाई तथा भेडाको दूध दुहुन र भेडाको साँढ काटेर खान पाइने व्यवस्था मिलाइएको छ । आफ्नै बन्दोबस्तीका साथ मयुङ पुगेका पर्यटक गोठठबासमा बस्ने, खाने तथा सुत्नेसम्मको व्यवस्था भएपछि मख्ख पर्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर मयुङकै दिल्पा भन्ने ठाउँमा भोजपुरका एक व्यवसायीले होमस्टे (घरबास)समेत सञ्चालन गरेका छन् । मयुङ घुम्न आउने पर्यटकका लागि उक्त होमस्टेले धान्ने अवस्था नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

मयुङसँगै गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको विकास एवं प्रवद्र्धनका लागि गाउँपालिकाबाट बजेटसमेत विनियोजन गरिएको केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईले बताउनुभयो । “गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमध्ये मयुङ प्रमुख गन्तव्य हो”, उहाँले भन्नुभयो, “यसको समग्र विकासका लागि गाउँपालिका एक्लैको प्रयासले सम्भव छैन, यसका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतसँग समन्वय गर्ने काम भइरहेको छ ।”

नेपाल सरकारले निर्धारण गरेको एक सयवटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेलले समेत मयुङमा पर्यटकको सङ्ख्या वृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् । चखेवाभञ्ज्याङबाट सुरु भएको मुन्धुम ट्रेल धोत्रे, जलजले, मानेडाँडा, मात्तिम, दिल्पा, ढुङ्गागाखर्क, घोडेटार, फोक्से, सातदोबाटोपोखरी, बलौटेभञ्ज्याङ, ह्याकुले, हर्कटे, जग्गे, गुराँसे, घोप्टे, लौरे, रावाढाप, हाँडीपोखरी, निकास, देउराली हुँदै सालपा सिलिचुङ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology