• Sunday 26th of July 2026

निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजानुस् : पूर्वराष्ट्रपति डा यादव


  • गोकर्णेश्वर अनलाइन

पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गर्नु भएको छ ।

आज काठमाडौँको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले आयोजना गरेको १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस २०७९ मा उहाँले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताउनुभएको हो ।

“गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति थियो तर के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ?”, पूर्वराष्ट्रपति डा यादव भन्नुभयो, “राजनीतिबाट पनि मोक्ष प्राप्ति हुन्छ, राजनीति अरुका लागि, समाजका लागि, देशका लागि, निमुखाका लागि हुनुपर्छ, तर खै सिकेका ? त्यसैले अब युवाले निमुखाको पक्षमा राजनीति गर्नुपर्छ ।”

भारतमा गान्धीले समाजसँग, जनतासँग, देशसँग जोडेर स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै उहाँले चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन उहाँको योगदान ठूलो रहेको बताउनुभयो । मानिसले नै अहिले प्रकृतिको विनाश गरेर नेपाल मात्रै होइन विश्वमा बढ्दो जलवायु परिवर्तनले २२ औँ शताब्दीमै मानव सभ्यता मुस्किल सङ्कटमा पर्ने जनाउँदै उहाँले विश्व सङ्कटमा र आफ्नो देश सङ्कटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गर्नुभयो ।

कुनै पनि प्रश्न बिना जीवनको अर्थ छैन भन्दै उहाँले मानव जातीले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै जाँदा विश्वमा करोडौँ मानिस भोकमारीको चपेडामा परिरहँदा युक्रेन र रुसको युद्धले विश्व आक्रान्त बनेको बताउनुभयो ।

कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्रा रामचन्द्र प्रधान, गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगष्ट इन्द्र उदियान, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्री वास्तब, गान्धी तुलसी दर्शन अध्ययनका शङ्कर तिवारी, जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा भएको थियो ।

कार्यक्रमका सभापति एवं महागुठीका अध्यक्ष उद्यमोहन श्रेष्ठले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले यहाँको विकासमा पु-याएको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology