• Saturday 25th of July 2026

स्वास्थ्य शिविरमा एक हजार दुई सयले लिए सेवा


  • गोकर्णेश्वर अनलाइन

नुवाकोटको शिवपुरी गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिबार दुई दिन सञ्चालन गरिएको शिविरमा एक हजार दुई सय दुई जनाले स्वास्थ्य जाँच एवं परीक्षणसहित औषधि सेवा लिएको गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा आँखाको उपचारसहित मोतियाविन्दुको शल्यक्रिया, मेडिकल सामान्य चिकित्सा सेवा, महिला तथा स्त्रीरोगसम्बन्धी परीक्षणसहित पाठेघर खस्नेसम्बन्धी उपचार सेवा, दन्त परीक्षण र विभिन्न किसिमका सर्जरी सेवा उपलब्ध गराइएको थियो । सर्जरी सेवामा शरीरमा गाँठागुँठी भएका, कोठी पलाएको, खिल पल्टेकाको शल्यक्रिया, हर्निया र हाइड्रोसिल शल्यक्रिया तथा पुरुष बन्ध्याकरण सेवा प्रदान गरिएको छ ।

काठमाडौँ र सिन्धुपाल्चोकसँग सीमा जोडिएको शिवपुरी गाउँपालिका भौगोलिकरूपमा दुर्गम, सडक सञ्जालको पहुँच अभावलगायतका कारण बिरामीले घर छाडेर स्वास्थ्य संस्थासम्म जचाउन जानका लागि चासो नदिने भएकाले पालिकाले निःशुल्क शिविर सञ्चालन गरेर बिरामीको पहिचान, उनीहरूको रोगको उपचारसहित स्वास्थ्यसम्बन्धी सचेतनासमेत फैलाएको शिवपुरी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीलाई शिविरमा आउजाउ गर्न प्रत्येक वडाबाट निःशुःक यातायात सुविधा उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology