• Tuesday 8th of September 2026

बास्केटबलका खेलाडी भन्छन् : पूर्वाधार बनिदिए राम्रो खेल्न सक्छौँ


  • गोकर्णेश्वर अनलाइन

मधेश प्रदेश बारा निवासी सवना खातुन विगत तीन वर्षदेखि बास्केटबल खेल्दै आउनुभएको छ । कक्षा सात अध्ययन गर्दाको समयमा उहाँको रुची बास्केटबलप्रति बढ्यो ।

बास्केटबल खेलप्रति आकर्षण बढेपनि यसको पूर्वाधार नहुँदा उहाँ त्यति धेरै सन्तुष्ट हुनुहुन्न । “मधेश प्रदेशमा महिला बास्केटबल नयाँ जस्तै हो, हामी पनि बल्ल बल्ल सिक्दैछाँै, तर पूर्वाधार नहुँदा दुःख लाग्छ”, हाल कक्षा १० मा अध्ययनरत खातुनले भन्नुभयो, “बास्केटबलमा महिला खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान दिनुपर्छ ।”

बास्केटबल खेलाडी माला शाहले मधेश प्रदेशमै एकमात्र बास्केटबल कोर्ट रहेको भन्दै बास्केटबल कोर्ट बनाउनेतर्फ सरकारको ध्यान जान नसकेको गुनासो गर्नुभयो । “हामी बास्केटबल खेल्न सक्छौँ, तर कहाँ खेल्ने, खेलप्रति सरकारको त्यति ध्यान जान सकिरहेको छैन,” उहाँले भन्नुभयो, “खेलबाटै नेपाल विश्वमाझ चिनिन सकेको छ, तर खेलाडीप्रति सरकारको लगानी छैन ।”

अर्का खेलाडी रोशनी गुप्ताले आफू देशका लागि खेल्न तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने माग गर्नुभयो । “खेल्नका लागि उत्साह र जाँगर छ, तर वातावरण छैन, खेलकुदमा सरकारले लगानी बढाइदिएर हामीलाई प्रोत्साहन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मधेश प्रदेशबाट महिला बास्केटबल प्रतियोगिताका लागि कक्षा १० मा अध्ययनरत आठ खेलाडी सहभागी छन् । “सानै उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएर खेल्न पाउँदा गौरवको अनुभूति भएको छ”, पिङ्की कुशवाहले भन्नुभयो, “घरपरिवारबाट खेल्नका लागि प्रोत्साहन गरिदिए हामीलाई थप सहज हुन्थ्यो ।”

मधेश प्रदेशमा पर्याप्त बास्केटबल कोर्ट नहुँदा महिला खेलाडी उत्पादन गर्न नसकिएको बास्केटबलका प्रशिक्षक सुरज तिवारीले गुनासो गर्नुभयो । प्रदेशका सबै जिल्लामा कम्तिमा एक÷एक कोर्ट निर्माण हुनसके महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने तिवारीले बताउनुभयो ।

दुई महिनाको प्रयासका बाबजुद महिला बास्केटबल प्रतियोगिताका लागि पहिलो पटक मधेश प्रदेश सहभागी भएको हो । “पुरुषतर्फ तीन÷चार पटक राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागी भएपनि महिलातर्फ पहिलो हो”, उहाँले भन्नुभयो । महिला बास्केटबल मधेश प्रदेशमा नयाँ भएकाले पनि सरकारको प्राथमिकतामा नपरेको हुन सक्ने उहाँको बुझाई छ । “क्रिकेट र फुटबलमा बढी लगानी छ, बास्केटबलमा छैन । मधेश प्रदेशमा जम्मा एउटा मात्रै कोर्ट छ, अझै कोर्ट बनाउनुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा सञ्चालित महिला बास्केटबलमा मधेश प्रदेशले फुलकोर्ट र थ्री बाई थ्रीतर्फ सहभागिता जनाएको छ । दुवै विधातर्फ मधेश प्रदेशले एक जित निकाल्न सकेन ।

फुलकोर्टतर्फ मधेश प्रदेशले त्रिभुवन आर्मी क्लव र सुदुरपश्चिम प्रदेशसँग हार बेहोरेको छ । थ्री बाई थ्रीतर्फ मधेशले बागमती, लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लवसँग हार बेहोरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलमा एक खेल जित्न नसकेर तनहुँबाट विदाई हुँदै गर्दा खेलाडी कृषा गुप्ताले भन्नुभयो, “अर्को पटकको राष्ट्रिय खेलकुदमा सहभागी हुँदा जित्ने आत्मविश्वासका साथ आउनेछौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology