• Sunday 26th of July 2026

एमाले निर्वाचन घोषणापत्र : पाँच वर्षभित्र नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ, १५ कात्तिक (रासस) : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षभित्र दिगो विकासका लक्ष्य पूरा गरी नेपाललाई ‘राइजिङ स्टार’ मुलुक बनाउने पार्टीको योजना रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक कार्यक्रममा ‘लाइभ डिबेट’ कार्यक्रममा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल सङ्कल्प लिएर अगाडि बढेको हुँदा पाँच वर्षभित्र मुलुकलाई समृद्ध मुलुक बनाउने बताउनुभयो ।

“दिगो विकासको लक्ष्यअनुसार अल्पविकास राष्ट्रबाट सन् २०३० सम्म विकासशील राष्ट्र बन्नुपर्ने अवस्था छ”, अध्यक्ष ओलीले भन्नुभयो, “एक ढङ्गले विकासको बाटोमा अल्पविकसितबाट विकासशीलमा प्रवेश गरिसकेका छाँै, केही काम गर्न बाँकी छन्, त्यो पाँच वर्षमा गर्ने एमालेको योजना छ ।” उहाँले कोभिड–१९ जस्ता महामारी नआएको भए धेरै काम आफूले नेतृत्व गरेको सरकारले गर्ने योजना भएको सुनाउनुभयो ।

दुई वर्षभित्र नेपाली जनतालाई साक्षर बनाउने पार्टीको योजना रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “रौतहट, महोत्तरीमा ३०÷३२ प्रतिशत मात्र साक्षरता छ, कतिपय समुदायमा बालबालिकालाई विद्यायमा पढाउन मुस्किल छ, त्यसका लागि निकै प्रयास जरुरी छ ।” उहाँले विगतमा आफ्नो नेतृत्वको सरकारले विद्यार्थी भर्ना गर्न साक्षरता अभियान सञ्चालन गरेर राम्रै प्रगति गरे पनि कोरोना महामारीका कारण सोचेअनुरूप हुन नसकेको सुनाउनुभयो ।

अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, व्यापार कृषिको विकास गरी गरिबी निवारण गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका मानिसको सङ्ख्या घटाउन प्रयास गर्ने बताउनुभयो ।

पूर्वाधार निर्माण र मुलुकले सोचेअनुरूप विकास गर्नका लागि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचाररहित बनाउनुपर्ने र त्यसका लागि भएका कानूनको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने उहाँको भनाइ थियो ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा घोषणापत्रको डिजिटल अनावरण गरेपछि अध्यक्ष ओलीसँग नेबिल बैकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मध्यस्थकर्ताका रूपमा जनताको तर्फबाट प्रश्न सोध्नुभएको थियो । सोही प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचार निर्मूल गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “म भ्रष्टाचार गर्दिनँ भन्ने अठोट मन, वचन र कर्मले गर्नुपर्छ, सन्तानका लागि सम्पत्ति कमाइदिएर सन्तानलाई नालायक पात्र बनाउनु हुँदैन ।”

अध्यक्ष ओलीले घोषणापत्र कार्यान्वयन गर्नका लागि बनाएको स्पष्ट पार्दै भन्नुभयो, “यो घोषणापत्र मेटाएर, बरफको डल्लोजस्तो पग्लिएर, हराएर जाने होइन, ‘मङ्सिर ४ गते एमाले सरकार’ त्यो हाम्रो विश्वासका साथ बनाइएको हो ।” विगतमा पार्टीमा दुई तिहाइ बहुमत टिकाउन नसकेको भन्ने प्रश्नमा उहाँले एमालेकै स्पष्ट दुई तिहाइ नभएको प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी १२१ सिट प्राप्त भएको तर बुहमतका लागि १३८ सिट चाहिने भएकाले निर्वाचन मिलेर लडेको स्मरण गर्नुभयो ।

“एमालेसँग दुई तिहाइ पहिला पनि थिएन, निर्वाचन मिलेर लडियो, पछि एकता भएर दुई तिहाइ भएको थियो”, उहाँले भन्नुभयो, “निर्वाचन एमालेसँग मिलेर लडे पनि सरकार अर्कैसँग मिलेर बनाउने षड्यन्त्र भयो, एमालेसँग बहुमत थिएन, त्यसकारण सरकार टिकाउन सकिएन, कसले टिकाउन दिएन भन्ने यहाँहरूलाई अवगत नै छ ।”

अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति, कार्यक्रम, भिजन भएको र विकास निर्माणका कार्यक्रम योजनाबद्ध रूपमा अगाडि बढाएको विगतको अनुभवसमेत पार्टीमा भएको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ नै मूल सङ्कल्प

एमालेले आज सार्वजतिक गरेको घोषणापत्रमा मुख्य सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको छ । घोषणापत्रमा सुशासन, विकास, समृद्धि र समानतासहित ‘पाँच वर्ष ः एमालले गर्छ !’ भन्ने मूल नारा रहेको छ ।

बीस हजार शब्दको घोषणापत्रको एमाले अध्यक्ष ओली डिजिटलरूपमा अनावरण गर्नुभएको थियो । घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम सञ्चालन पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गर्नुभएको थियो भने लाइभ डिबेटको मध्यस्थता नबिल बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत शाहले गर्नुभएको थियो ।

एमालेले नयाँ तरिकाले चुनावी घोषणा सार्वजनिक गर्नुका साथै फरक क्षेत्रका व्यक्तिलाई कार्यक्रम सञ्चालन र कार्यक्रम सहजीकरण गर्ने नयाँ अभ्यास गरेको छ ।

महिलालाई गुणस्तरीय स्यानिटरी प्याड

एमालेले महिनावारी हुने उमेर समूहका महिलालाई गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिकरूपमा रु एक हजार पाँच सय उपलब्ध गराउने भएको छ ।

आज सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको २० ग्यारेन्टीमध्ये १७ नम्बरमा ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने उल्लेख छ । पार्टीले प्रसूति हुने सतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्य जाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट नियमित प्रसूति सेवा सुनिश्चित गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

ग्रामीण तथा दुर्गमका जोखिममा रहरेका सुत्केरी महिलाको निःशुल्क आपत्कालीन उद्धार सेवा गर्न हवाई एम्बुलेन्स र एम्बुलेन्स सेवा उपलब्ध गराइनेसमेत घोषणापत्रमा प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology