• Saturday 25th of July 2026

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै


  • गोकर्णेश्वर अनलाइन

टीकापुर, १६ कात्तिक (रासस): कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।

कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताउनुभयो । “मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “धान बेचेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउ र जोताइ खर्च जोहो गर्नुपर्छ । त्यसैले धान दाउने बित्तिकै बेच्नुपर्छ तर सरकारले मूल्य तोकेको छैन ।”

स्थानीय गल्ला व्यापारी तथा धान खरिद गर्ने व्यवसायीले धान प्रतिक्विन्टल रु दुई हजार दुई सयदेखि रु दुई हजार तीन सयसम्ममा खरिद गरिरहेका छन् । सरकारले समर्थन मूल्य नतोकेको र धान राम्रोसँग नसुकेको कारण सुरुआती चरणमा उक्त मूल्यमा धान खरिद गरिरहेको व्यापारी नवीन श्रेष्ठले बताउनुभयो ।

सरकारले धान सस्तो मूल्यमा बेचेर सकिने बेला समर्थन मूल्य निर्धारण गर्ने भएकाले धान उत्पादनको लागत मूल्यभन्दा सस्तोमा धान बेच्नुपरेको किसानको गुनासो छ । सरकारले अहिलेसम्म कुनै जानकारीसमेत नगराएको र मन्त्रिपरिषद्को निर्णयले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा परिपत्रपछि कार्यान्वयन हुने गर्दछ । तर अहिलेसम्म कुनै जानकारी नभएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताउनुभयो ।

“मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौँ”, उहाँले भन्नुभयो, “अहिले व्यापारीले आ–आफ्नै तरिकाले धान खरिद गरिरहनुभएको छ ।” गत वर्ष टीकापुरमा कात्तिक १८ गतेदेखि खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल रु दुई हजार सात सय ३५ र मध्यम धान रु दुई हजार आठ सय ८५ मा खरिद सुरु गरेको थियो ।

बाढीले धानको बीजवृद्धि खेतीमा क्षति

गएको असोजमा कैलालीमा आएको बाढी तथा डुबानले तयारी अवस्थामा रहेको धान बालीमा नोक्सानी भयो । धेरै किसानले खाने बाली तथा बीउ उत्पादनका लागि धानखेती गरेका थिए । बाढी तथा डुबानले खानका लागि लगाएको बालीसँगै बीउ उत्पादनका लागि गरिएको खेतीमा असर गर्दा यस वर्ष बीजवृद्धि खेतीको उत्पादन घट्ने बीउ उत्पादक कृषि सहकारीको भनाइ छ ।

जानकी गाउँपालिका–४ स्थित बीजवृद्धि कृषक सहकारी संस्था मुनुवाले यस वर्ष एक सय ८० हेक्टरमा विभिन्न जातका धानको बीजवृद्धि खेती गरेको थियो । बीउका लागि गरिएको खेती रोपेदेखि विभिन्न समयमा खेतको निरीक्षणसँगै उत्पादनको अवस्थामा पुग्ने बेलासम्म धानखेत राम्रै उत्पादन दिने अवस्थामा थियो । बाली तयारी अवस्थामा पुगेका बेला असोजमा दुईपटक आएको वर्षा र बाढीले धानखेतीमा क्षति पु-याएको सहकारीले जनाएको छ ।

सहकारीको यस वर्ष चार हजार क्विन्टल धानको बीउ सङ्कलन गरी भण्डारण गर्ने योजना थियो । तर बाढी र डुबानका कारण बीजवृद्धिका लागि गरिएको खेतमा नोक्सानी हुँदा धानको बीउको मात्रा घट्ने सहकारीका व्यवस्थापक गोविन्द रावतले बताउनुभयो । “यस वर्ष हामीले बीजवृद्धिका लागि सघाएका क्षेत्रमा समेत उत्पादन घटेको छ । बाढीले डुबेको र ढलेको धान बीउका लागि योग्यसमेत हुँदैन”, उहाँ भन्नुहुन्छ, “अहिले किसान धान सङ्कलन गर्दैछन् । तर धानको बीउ भने घट्ने निश्चित हो ।”

टीकापुरका नमूना बहुउद्देश्यीय सहकारीले पनि यस वर्ष ८२ बिघा क्षेत्रमा विभिन्न जातको धानको बीजवृद्धि कार्यक्रम गरेको थियो । करिब एक हजार दुई सय क्विन्टल धानको बीउ सङ्कलन गर्ने लक्ष्य राखेको छ । तर बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक लीला चौधरीले बताउनुभयो ।

टीकापुरकै धनसिंहपुर कृषि सहकारीले पनि ६२ बिघा क्षेत्रफलमा बीउ उत्पादनका लागि धानको बीउवृद्धि खेती गरेको थियो । बाढी तथा डुबानले गर्दा धानको बीजवृद्धिका लागि गरिएको १५ बिघा क्षेत्रफल बालीमा नोक्सानी गरेकाले बीउ उत्पादनमा असर पर्ने सहकारीका व्यवस्थापक मुना घर्तीमगरले बताउनुभयो ।

टीकापुर नगरपालिकामा आठ र जानकीमा तीन सहकारी बीउ उत्पादन सङ्घमा आबद्ध छन् । सहकारीले विभिन्न बालीको बीउ उत्पादन गर्दै आएका छन् भने धानको मात्र यस वर्ष करिब पाँच सय हेक्टरमा बीउ उत्पादनका लागि बिजवृद्धि कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology