• Saturday 25th of July 2026

कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको हो : प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताउनुभएको छ ।

आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाउनुभयो ।

“कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उहाँले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाउनुभयो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उहाँको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह पmैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।”

उहाँले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताउनुभयो । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राख्नुभयो ।

“दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ”, उहाँले भन्नुभयो, “दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।”

मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री : अध्यक्ष दाहाल

सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताउनुभयो ।

उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गर्नुभयो । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

भूमि फिर्ताका विषयमा उहाँले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उहाँले भन्नुभयो, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।”

सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology