• Friday 24th of July 2026

डायलासिस सेवा अस्पतालको स्वामित्वमा आयो


  • गोकर्णेश्वर अनलाइन

शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्र दमौली अस्पतालको स्वामित्वमा आएको छ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलासिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले शाखाका रुपमा दमौली अस्पतालमा नै सञ्चालित डायलासिस सेवा प्रवाहको स्वामित्व हस्तान्तरण गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा ऋषिकुमार काफ्लेले अस्पतालका अध्यक्ष देवेन्द्र थापालाई स्वामित्व हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव डा विश्वबन्धु बगाले, राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी उपनिर्देशक तोयानाथ दवाडी, प्रशासन प्रमुख सुमन राउत, सिनियर मेडिकल अफिसर डा कमला थापा लगायतको टोलीले एक कार्यक्रमका बीच दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दिवस ढकाललाई डायलासिस सेवा हस्तान्तरण गरिएको हो ।

केन्द्रले उपकरण, कर्मचारीसहित डायलासिस सेन्टर अस्पताललाई हस्तान्तरण गरेकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशका सचिव डा बगालेले जिल्ला अस्पताललाई १५ श्ययाबाट वृद्धि गरी मङ्सिरसम्ममा ५० श्ययाको बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “१५ श्यया भनेको नगर अस्पताल जस्तो भयो । प्रदेशको अस्पताल सकेसम्म एक सय श्ययाको नभए पनि ५० श्ययाको बनाउनुपर्छ । यसलाई मङ्सिरभित्र ५० श्ययाको बनाउनेछौँ ।”

डायलासिस तालिम केन्द्र दमौली अस्पताललाई बनाउनुपर्नेमा उहाँको जोड थियो । “हाम्रो प्रदेशको आवश्यकतामा पर्दछ । त्यो व्यवस्था गर्नेछौँ । राष्ट्रिय मिर्गाैला केन्द्रको सहकार्यमा तालिम केन्द्र बनाउनुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ”, डा बगालेले भन्नुभयो । यहाँको समस्या समाधानका लागि प्रदेशले एउटा डायलसिस मेसिन उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष थापाले दमौली अस्पताल पोखरा पछि सबैभन्दा धेरै बिरामी आउने अस्पताल भएकाले विशिष्टीकृत सेवा प्रदान गर्न तत्कालै क्षमता विस्तार गर्नुपर्ने बताउनुभयो ।

अस्पतालको विस्तारका लागि गण्डकी प्रदेशको राजधानी पोखरा पछि दोस्रो बढी जनघनत्व रहेको तनहुँमा नगर अस्पतालको जत्तिकै श्यया रहेकाले वृद्धि गर्न उहाँले सहयोगको माग गर्नुभयो । प्रदेशको पोखरा पछि तनहुँमा बिरामीको चाप बढी रहेको उहाँले जानकारी गराउनुभयो ।

उक्त डायलासिस केन्द्रमा विसं २०७२ मङ्सिर २ गतेदेखि रु एक करोड २५ लाखको लागतमा दमौली अस्पतालमा सञ्चालनमा ल्याइएको हो । हाल डायलसिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रका प्रशासन प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिर्गौलाका बिरामीको विसं २०७२ देखि विसं २०७९ कात्तिक २१ गतेसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ । अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको पर्खाइमा रहेको पण्डितले बताउनुभयो । दमौली अस्पतालमा डायलासिस उपचार केन्द्र सञ्चालनले तनहुँलगायत लमजुङ, गोर्खा, कास्की जिल्लाका मिर्गाैलाका बिरामीलाई डायलासिसका लागि सहज भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology