• Saturday 25th of July 2026

संविधानको रक्षाका लागि गठबन्धन : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताउनुभएको छ । गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताउनुभयो ।

“यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो”, अध्यक्ष दाहालले भन्नुभयो, “अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।”

उहाँले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताउनुभयो । “हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाउनुभयो ।

दुईतिहाइ जोगाउन नसक्नेलाई भोट दिए देश बर्बाद हुन्छ : केन्द्रीय सदस्य पाण्डे

सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा (२) का उम्मेदवार सुरेन्द्रराज पाण्डेले एमालेले दुईतिहाइ बहुमत जोगाउन नसक्ने एमालेलाई फेरि भोट दिन नहुने बताउनुभयो । उहाँले एमालेलाई भोट दिए देश फेरि पाँच वर्ष बर्बाद हुने बताउनुभयो ।

नेता पाण्डेले वाम–लोकतान्त्रिक गठबन्धनलाई निर्वाचनमा भोट दिएर देशलाई समृद्धिको दिशामा लैजानुपर्ने बताउनुभयो । उहाँले समृद्ध राष्ट्र निर्माणका लागि अग्रगामी शक्तिको आवश्यकता रहेको भन्दै अहिले गठबन्धन त्यसै आधारमा बनेको बताउनुभयो । गोर्खाली जनताले भोलिको प्रधानमन्त्री हुने व्यक्तिलाई अत्याधिक बहुमतले जिताएर पठाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology