• Saturday 25th of July 2026

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु : वरिष्ठ नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ ।

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उहाँले पार्टी सङ्गठनभित्र पार्टीको सिद्धान्त, आदर्श र निष्ठाको अभियानलाई अगाडि बढाउन आगामी दिनमा अझ बढी सक्रिय रहने उल्लेख गर्नुभएको छ ।

“संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समावेशीता र आर्थिकरूपमा समृद्ध नयाँ नेपाल निर्माणमा यसपटक प्राप्त गरेको जनादेशले स्पष्ट सन्देश दिएको मैले महसुस गरेको छु”, वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ ।

यस निर्वाचनमा जनताद्वारा तनहुँ जिल्लाको विकासको जिम्मा गठबन्धनलाई प्राप्त भएको महसुस गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनले दिएको सन्देशको गम्भीर विश्लेषण गरी आजको आवश्यकता सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा तनहुँको प्रतिष्ठाजनक भूमिका स्थापित गर्दै समग्र मुलुक र तनहुँ जिल्लाको विकास गर्न आम जनताको साझा प्रतिनिधिका रूपमा कार्य गर्ने र देशलाई सुशासन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले यस निर्वाचनलाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका सबै कर्मचारी, सुुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा गठबन्धनका सहयात्री दललगायत आम तनहुँबासीलाई समेत आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology