• Saturday 25th of July 2026

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ


  • गोकर्णेश्वर अनलाइन

दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभयो । उहाँले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी हुनुभयो ।

हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौँ हुन पुगेको छ । चितवन ३ मा समानुपातिका ९४ हजार दुई सय ८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार चार सय एक मत प्राप्त गरेर पहिलो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार सात सय ५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा (माओवादी केन्द्र)ले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा (एमाले)ले १४ हजार पाँच सय २२ मत प्राप्त गरेर चौँथो र काङ्ग्रेसले १० हजार पाँच सय २१ मत प्राप्त गरी पाँचौँ स्थानमा पुगेको छ ।

सो क्षेत्रमा कांग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र काङ्ग्रेस तेस्रो भएका हुन् ।

जिल्लामा कूल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, कांग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले नौ प्रतिशत र नेकपा (एकीकृत समाजवादी)ले दुई प्रतिशत मत पाएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा एमालेले ५५ हजार तीन सय १२, नेपाली कांग्रेसले ३९ हजार एक सय ३०, माओवादी केन्द्र्रले २९ हजार चार सय ६१, राप्रपाले २५ हजार ५५ र नेकपा (एकीकृत समाजवादी)ले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा ९५ हजार तीन सय ९९ मतमा स्वतन्त्र पार्टीले ३४ हजार छ सय ९१ मत प्राप्त गरेको छ । एमालेले २४ हजार छ, कांग्रेसले १६ हजार छ सय ९५,माओवादी केन्द्रले चार हजार नौ सय ६५, राप्रपाले पाँच हजार ८२ र नेकपा एकीकृत समाजवादीले तीन हजार पाँच सय १८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीनराज रुवालीले जानकारी दिनुभयो ।

चितवन २ मा ८२ हजार नौ सय ३४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार नौ सय ४५ मत पाएको छ । एमालेले १६ हजार सात सय ८४ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसले ११ हजार नौ सय १४, नेकपा माओवादी केन्द्रले आठ हजार चार सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार दुई सय १८ र एकीकृत समाजवादीले छ सय १६ मत पाएको छ ।

जिल्लामा पुराना एवं ठूला पार्टीले नयाँ र साना दलसँग प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकमा समेत यसको प्रभाव देखिएको छ । प्रत्यक्षमा दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्र राप्रपाले जितेका छन् । प्रदेशसभामा एमालेले दुई र कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक क्षेत्र जितेका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले संघ र जिल्ला तहमा गठबन्धन गरिए पनि मतदाताले अस्वीकार गर्दा पार्टीले मत कम पाएको बताउनुभयो । जिल्लामा रुष्ट बनेका दलका कार्यकर्ताले फरक उम्मेदवारलाई मतदान गरेपछि पहिले पहिले निर्वाचन जितेका दलहरु अहिले निकै कमजोर देखिएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology