• Friday 24th of July 2026

दाङ खाद्यान्नमा आत्मनिर्भर


  • गोकर्णेश्वर अनलाइन

दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्याङकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्का अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ । यसमा दुई लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेको जनसङ्ख्या र यहाँ उत्पादन भएको खाद्यान्नको परिणाम हेर्दा पुग्ने गर्दछ । तर सबै खाद्यान्न मानिसले उपयोग नगर्दा समस्या हुने गरेको छ । मकैको उत्पादन राम्रो भए पनि मानिसले कम उपयोग गर्ने गरेका छन् । धेरैले धानको उपयोग धेरै गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको धान पहाडी जिल्लामा जाने तथा जिल्लामा बहिरी जिल्लाबाट समेत आउने गरेको छ । जिल्लामा उत्पादन भएको मोटो धान बाहिर जाने र जिल्लामा मसिनो चामल आउने गरेको पाइएको छ ।

प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक दुई सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउनुहुन्छ् । जिल्लामा धान, गहँु, मकै, जौ, कोदो, फाफर उत्पादन हुने गरेको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७८÷८९ मा ३३ हजार पाँच सय ४० मेट्रिक टन खाद्यान्न बचत भएको थियो । जिल्लामा कूल आवश्यक पर्ने प्रशोधित खाद्यान्न एक लाख ३५ हजार नौ सय ३२ मेट्रिक टन रहेको कृषि अर्थविज्ञ लामिछानेको भनाइ रहेको छ । खानका लागि प्रयोग हुने उपलब्धता खाद्यान्न एक लाख ६९ हजार चार सय ७२ मेट्रिक टन रहेको उहाँले बताउनुभयो । २०७८ सालको जनसङ्ख्याको प्रारम्भिक नतिजाअनुसार ६ लाख ७६ हजार दुई सय ७७ रहेको थियो । जिल्लाको जनसङ्ख्या वृद्धिदर १।९४ प्रतिशत रहेको छ ।

जिल्लामा धान खेती ३९ हजार चार सय हेक्टरमा खेती हुने गरेको छ । यसमा एक लाख ७३ हजार तीन सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ । बीउका लागि एक हजार नौ सय ७० मेट्रिक टन, खानयोग्य ७८ हजार सात सय २३।२२ मेट्रिक टन, अखाद्य प्रयोग तीन हजार नौ सय ३६।१६ मेट्रिक टन, दानामा प्रयोग तीन सय ९३।६ मेट्रिक टन हुने गरेको छ भने प्रशोधित, नोक्सानी भएर बाँकी ७४ हजार तीन सय ९३।४ मेट्रिक टन रहने गरेको छ । आर्थिक वर्ष ०७८÷ ७९ मा जिल्लामा वर्षातका कारण २७ हजार मेट्रिक टन धानमा क्षत्ति पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology