• Friday 24th of July 2026

झापामा आलु खेतीको क्षेत्रफल बढ्यो


  • गोकर्णेश्वर अनलाइन

झापामा यसवर्ष आलु खेतीको क्षेत्रफल बढेको छ । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष आलु खेतीको क्षेत्रफल २०५ हेक्टर बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गतवर्ष जिल्लामा १५ हजार सात सय ८० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकामा यसवर्ष १५ हजार नौ सय ८५ हेक्टरमा सो खेती गरिएको छ ।

गतवर्ष जिल्लामा दुई लाख ५७ हजार दुई सय २४ टन आलु उत्पादन भएको थियो । जिल्लामा कार्डिनल, जनकदेव, कुफ्रीलगायत जातका आलुखेती बढी हुने गरेको उहाँको भनाइ छ । क्षेत्रफलसँगै यसवर्ष आलु उत्पादन बढ्ने प्रारम्भिक अनुमान छ । जिल्लाका स्थानीय तहले आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेकाले आलु खेती विस्तार हुँदै गएको हो ।

जिल्लाको बुद्धशान्ति , कमल , गौरीगञ्ज गाउँपालिका सहित अर्जुनधारा र बिर्तामोड नगरपालिकालगायतका पालिकाले आलु खेतीका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका छन् । बिर्तामोडले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । किसानलाई आलुको बीउ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले बताउनुभयो ।

नगरपालिका र किसानको आधा–आधा लागत सहभागितामा यसवर्ष ३८ टन आलुको बीउ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । प्रतिकठ्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बीउ वितरण गरिएको उहाँले बताउनुभयो । बिर्तामोड–६, ७, ८, ९, १० र २ नम्बर वडाका किसानलाई आलुको बीउसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधिसमेत प्रदान गरिएको छ । किसानलाई लालगुलाब, कार्डिनल र एमएस जातका आलुको बीउ वितरण गरिएको छ । आलु खेती प्रवद्र्धन गरिएको पहिलो वर्ष प्रतिकठ्ठा १३–१४ मन, दोस्रो वर्ष ८–९ आलु उत्पादन नभएको थियो । यसवर्ष मौसम राम्रो हुनुका साथै रोगकीरा नदेखिएकाले १०–१२ मन प्रतिकठ्ठा आलु उत्पादन हुने आंकलन गरिएको कृषि शाखा प्रमुख कडरियाले बताउनुभयो ।

जिल्लामा आलु प्रबद्र्धन कार्यक्रम सञ्चालन भइरहे पनि आलु आयात बढेको छ । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार चार सय ५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिनुभयो । काँकरभिट्टा नाकाबाट गतवर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार चार सय ३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानबाट आलु आयात हुने गरेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी आलु आयत हुने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology