• Friday 24th of July 2026

सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ : अध्यक्ष ओली


  • गोकर्णेश्वर अनलाइन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम सत्य मान्ने भ्रमबाट आफ्नो पार्टी मुक्त रहेको बताउनुभएको छ ।

एमालेको सङ्गठन सुदृढीकरणका लागि सञ्चालित ‘मिसन ग्रासरूट’ अभियानका सन्दर्भमा ‘निर्वाचनपछिको राष्ट्रिय राजनीति, नयाँ सत्ता सहकार्य, अवसर एवं चुनौती’बारे उल्लेख गर्दै उहाँले गत पुस १० गते सहमतिका आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलको शक्ति सन्तुलनमा सरकार गठन हुनु राजनीतिमा आएको सकारात्मक परिवर्तन भएको बताउनुभयो ।

अध्यक्ष ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

“विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ”, अध्यक्ष ओलीले भन्नुभएको छ ।

वर्तमान सरकारका काम सकारात्मक रहेको टिप्पणी गर्दै उहाँले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको र यसले लोकतन्त्रलाई कमजोर बनाउने दाबी पनि गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, लोकतन्त्रलाई सुदृढ र परिणाममुखी बनाउन तथा जनतालाई परिवर्तनको अनुभूतिसहित सुशासन र समृद्धिको यात्रामा लैजान एमाले सदैव लागिरहेको बताउनुभयो ।

उहाँले पार्टी राष्ट्रियहित, स्वाभिमान र परिणाममुखी नतिजाका लागि जनताका पक्षमा उभिएको पनि सो निर्देशनमा उल्लेख गर्नुभएको छ । साथै दाउपेच, षड्यन्त्र र विश्वासघातमाथि आधारित राजनीतिको आयु लामो नहुने पनि अध्यक्ष ओलीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology