• Friday 24th of July 2026

पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन् : सभापति देउवा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उहाँलाई विजयी बनाउन सबैलाई आह्वान गर्नुभएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले नेता पौडेलले नेपाली राजनीतिमा गर्नुभएको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न ।”

नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा उहाँको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति मुलुकको अभिभावक भएको र राष्ट्रपतिबाट मुलुकको भौगोलिक अखण्डता, स्वाभिमान र जनहितको जगेर्नामा भूमिका र योगदान हुने बताउनुभयो । उहाँले विगतमा राष्ट्रपतिको भूमिकाका सम्बन्धमा केही गुनासो आएको उल्लेख गर्दै पूर्वसभामुख पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यस्तो गुनासो नआउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पदका उम्मेदवार पौडेलले अहिलेको संविधानको व्यवस्थाका लागि आफूले छ दशक बढी समय अथक प्रयास गरेको र संविधानको शब्द र भावसँग आफू पूर्ण परिचित भएको बताउँदै राष्ट्रपतिको जिम्मेवारीमा आएपछि संविधानमा कुनै तलमाथि हुन नदिने प्रण गर्नुभयो ।

कार्यक्रममा लोकतान्त्रिक समाजावादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालको सङ्घीय परिषद्का अध्यक्ष अशोककुमार राई, नेता राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, खानेपानीमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायतले सम्बोधन गर्दै आफ्नो पार्टीले राष्ट्रपतिमा पौडेललाई मतदान गरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology