• Monday 27th of July 2026

तुलसीपुर मेट्रो अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सुरु


  • गोकर्णेश्वर अनलाइन

तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित तुलसीपुर मेट्रो अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेले सो सेवाको सोमबार उद्घाटन गर्दै कोरोना महामारीकाबीच सञ्चालनमा आएको यो अस्पतालले ओपिडी सेवा सुरु गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका नागरिक, उद्योगी व्यवसायी र समाजसेवीको सहयोग तथा सहकार्यले उपमहानगरपालिकाले अस्पतालमा भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको छ ।”

नगरप्रमुख पाण्डेले तुलसीपुरका १९ वटै वडामा स्वास्थ्य संस्था र एम्बुलेन्स सञ्चालन गरेकाले स्वास्थ्य क्षेत्रमा केही फड्को मार्न सकिने बताउनुभयो । उहाँले विगतमा गाउँ गाउँमा सुत्केरीको ज्यान जाने गरेको थियो, तर पछिल्लो दिनमा मातृमृत्यु दर शून्य रहेको र कही कतै सुत्केरी आमाको मृत्युभएको सुन्नमा नआएको बताउनुभयो ।

तुलसीपुर नगरपालिकाको अश्वरामा सञ्चालनमा आएको सो अस्पतालका लागि समाजसेवी अभिषेकप्रताप शाहले आफना स्वर्गीय बुबा भीमसेन शाहको स्मृतिमा तीन कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । सोही जग्गामा उपमहानगरपालिकाले भीमसेन सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नामाकरण गरी तुलसीपुर मेट्रो अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालको भौतिक पूर्वाधारका लागि यहाँका विभिन्न निका, सङ्घसंस्था तथा विदेशबाटसमेत यसअघि नगद तथा उपकरण सहयोग प्राप्त भएको छ ।

अस्पतालमा विशेषज्ञसहितको ओपिडी र आइपिडी सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाति कलेजो रोग विशेषज्ञ सेवा, अत्याधुनिक प्याथोलोजी सेवा, दैनिक कोरोना एनटिजेन टेष्ट तथा उपचार सेवा, इसिजी सेवा, फार्मेसी सेवा, फिजियोथेरापी सेवा, खोप सेवा, शल्यक्रिया सेवा र २४ सै घण्टा एम्बुलेन्स सेवा सुुचारु गरेको अस्पतालका प्रमुख डा प्रकाश साहुले जानकारी दिनुभयो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले स्वर्गीय बुबाआमाको सम्झानामा तुलसीपुर मेट्रो अस्पताललाई रु एक लाख एक हजार १०१ सहयोग गर्नुभएको छ । उहाँले स्वर्गीय बुबा टेकबहादुर पाण्डे र आमा अमृता पाण्डेको सम्झनामा तुलसीपुर मेट्रो अस्पतालका प्रमुख डा प्रकाश साहुलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

आफनो गाउँमा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिक खुसी भएका छन् । पहिलो दिनमा हिजो दुई सय बढीले सेवा लिएको अस्पतालका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology