• Monday 27th of July 2026

डोटीमा थपिए कुष्ठरोगी


  • गोकर्णेश्वर अनलाइन

जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेको छ । जिल्लाभरिमा थप पाँचजना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

डोटीमा गतवर्ष सात कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठरोग देखिएपछि अहिले जिल्लामा कुष्ठ रोगीको सङ्ख्या १२ रहेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७७÷७८ को सुरुमै जिल्लामा पाँच नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्क अधिकृत महेश बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बर्सेनि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको छ । कुष्ठ रोग अन्त गर्नमा समस्यासहित चुनौती थपिएको छ ।”

स्वास्थ्य कार्यालयका अनुसार नयाँ फेला परेका कुष्ठरोगीमा जोरायल गाउँपालिकामा एक, शिखर नगरपालिका एक, दिपायल सिलगढी नगरपालिकामा तीन छन् । जिल्लामा कुष्ठरोग सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदै आए पनि यहाँका गाउँघरमा कुष्ठरोगी अझै लुकिछिपी बस्ने गरेका कारण यहाँको कुष्ठरोग अन्त हुन नसकेको चिकित्सक बताउछन् ।

स्वास्थ्यका अनुसार जिल्लामा दुईवर्ष यतादेखि कुष्ठरोगीको सङ्ख्या थपिँदै गएको पाइएको छ । गतवर्ष जिल्लाका केआईसिंह गाउँपालिकामा एक, शिखर नगरपालिकामा दुई, पूर्वीचौकी गाउँपालिकामा एक, दिपायल सिलगढी नगरपालिकामा दुई र बडिकेदार गाउँपालिकामा एक कुष्ठरोगका बिरामी फेला परेका थिए ।

जिल्लाका विभिन्न स्थानमा चर्मरोग सम्बन्धी विभिन्न शिविर सञ्चालन गरेका कारण अहिले कुष्ठरोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि स्वास्थ्य कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा बिरामी पहिचानका लागि ‘स्क्रिनिङ क्याम्प’ गर्ने योजना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिनुभयो ।
नेपाल सरकारले कुष्ठरोगमुक्त नेपालको परिकल्पना गर्दै सन् २०२० मा कुष्ठरोग प्रकोप दर प्रति दश हजारमा एक भन्दा कम गर्ने लक्ष्य राखेपनि डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै जान थालेपछि उक्त लक्ष चुनौतीका रुपमा लिइन थालिएको छ । बिरामीको स–सम्मान स्वास्थ्य उपचार गर्ने वातावरण सिर्जनाका लागि चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology