• Saturday 25th of July 2026

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती


  • गोकर्णेश्वर अनलाइन

पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । कोरियामा चार वर्ष बिताउनुभएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लाग्नुभएको छ । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गर्नुभएको छ । उहाँले रु २० लाख लगानीमा केही बाँझो र केही कोदो र मकै उत्पादन हुने जग्गामा त्यसको बिरुवा रोप्नुभएको छ । बिरुवा हलहली बढ्दै गएपछि थापा उत्साहित हुनुभएको छ । बिरुवा रहर लाग्दो रुप हुर्किएपछि उहाँलाई काम गर्न थप ऊर्जासमेत मिलेको छ ।

विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाइ गर्न सकिने भन्दै गाउँ आएर थापाले यो खेती सुरु गरेको बताउनुहुन्छ । सुरुमा चितवनबाट एक हजार ५०० बिरुवा ल्याएर खेती सुरु गरेको उहाँको भनाइ छ । नेपालमा व्यावसायिक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने उहाँ बताउनुहुन्छ । “सुरुमा लहलैमा लागेर विदेश गएँ, वास्तवमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भन्नुभयो, “गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगाउनु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।”

थापाले विदेश जानुभन्दा अगाडि तीन वर्ष शिक्षण पेसा गर्नुभएको थियो भने सात वर्ष लघुवित्तमा समेत काम गर्नुभएको थियो । “आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ तर यही गर्छु भन्ने मनमा थिएन्, नेपालमा केही नौलो गर्न मन लाग्यो, युटुयुबमा हेरे अहिलेसम्म नेपालमा सोचे जति ड्रागनको व्यावसायिक खेती भएको छैन र यस फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा खेती गर्न सुरु गरेको हुँ”, थापा भन्नुहुन्छ ।

थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतीमा लगानी गरेको बताउनुहुन्छ । थापालाई उहाँकी श्रीमती गोरीको पनि साथ मिलेको छ । थापाले बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी विरुवाले फल दिन सुरु गर्ने उहाँ बताउनुहुन्छ । थापाले बिरुवा लगाउने समयमा माटोको परीक्षण गर्नुभएको थियो । यो खेती एक हजार ५०० उचाइभन्दा तल राम्रो हुने गर्दछ ।

थापालाई यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क हुनुहुन्छ । अहिले यसको बजार मूल्य प्रतिगोटा २०० देखि ३०० पर्ने थापाको भनाइ छ । यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाई दिए राम्रोसँग सर्ने थापा बताउनुहुन्छ । थापाले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोचमा हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology