• Wednesday 29th of July 2026

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताउनुभयो ।

“कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कांग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।” उहाँले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।” उहाँले दुई तिहाई मत प्राप्त कम्युनिष्ट पार्टी विभाजित भए पनि कांग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताउनुभयो । “कांग्रेसको प्रमुख विपक्षी कम्युनिष्ट पार्टी हो”, उहाँले भन्नुभयो, “अरु फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ । हामी आफैमा सजग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

तनहुँका दशवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिनुभयो । “कांग्रेसलाई लोकतान्त्रिकरण र रुपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु,” उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले राजनीतिलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले विचार र प्रेरणाको स्रोत बिपी कोइरालापछि रामचन्द्र पौडेल भएको दाबी गर्दै कार्यकर्ताले नेता छान्दा मूल्याङ्कन गर्नुपर्ने र १४औंँ महाधिवेशनमा सही नेतृत्व छनोट गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस भिमाद नगरसमितिका सभापति अरविन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति किसान गुरुङ, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology