• Wednesday 29th of July 2026

आगामी महाधिवेशनमा म पनि सभापतिमा उठ्छु – वरिष्ठ नेता पौडेल


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताउनुभयो ।

“प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ”, उहाँले भन्नुभयो, “कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ” उहाँले भन्नुभयो । उहाँले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी सङ्कटमा पर्नसक्ने उहाँले बताउनुभयो ।

“पार्टीको अधिवशेन हुनुपर्छ, नत्र पार्टी वैधानिक सङ्कटमा पर्नसक्छ”, पौडेलले भन्नुभयो, “वैधानिक सङ्कटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ ।” संविधानको कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उहाँले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तिलाई दोहो-याउन नहुने सुझाव दिनुभयो ।

आगामी निर्वाचनमा कांग्रेस एक्लै जान्छ कि गठबन्धन बन्छ भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितिले कस्तो आउँछ, त्यतिखेर नै निर्णय होला ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology