• Saturday 25th of July 2026

किसानले बाली बीमा पाएनन्


  • गोकर्णेश्वर अनलाइन

बलेवा, ११ कात्तिक (रासस): बरेङ गाउँपालिका–२ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा आलैंची लगाउनुभएको छ । हिउँद र वर्षा दुवै याममा देखिनसक्ने क्षतिको खतरालाई कम गर्न उहाँले बालीको बीमा पनि गर्नुभएको छ । तर, क्षति बहन गर्छ भनेर गरेको बीमा अहिले धनीश्वरलाई निल्नु न ओकेल्नु भएको छ ।

प्रभु इन्स्योरेन्समा बीमा गर्नुभएका धनीश्वर सदरमुकाम र पोखरा कयौं पटक धाउनुभयो । बीमा गर्न उहाँको बगानमै पुगेका कम्पनीका प्रतिनिधिलाई कयौं पटक फोन गर्नुभयो । तर, न त बीमा रकम पाउनुभयो, न त बगान सफा गर्न पाउनुभएको छ । बीमा कम्पनी प्रभु इन्स्योरेन्सले बेवास्ता गरेका कारण धनीश्वर पीडित हुनुहुन्छ ।

गाउँमा रहेका २४ परिवारले अलैंँचीको खेती गरेका छन् । नमूना अलैँची समूहमा आबद्ध किसानमध्ये धनिश्वर धेरै जमिनमा अलैँची लगाउने किसान हुनुहुन्छ । अन्यबाली प्रतिस्थापन गरेर व्यावसायिक अलैँचीमा लाग्नुभएका उहाँको खेतीमा अहिले खरानी मात्रै छ । आगलागीपछि अलैँचीका मुनाको धनीश्वरले व्यवस्थापन गर्न पाउनुभएको छैन् ।

विसं २०७८ वैशाख १३ मा उहाँको अलैँची बगानमा आगो लाग्यो । नजिकैको जङ्गल हुँदैआएको आगो निभाउने प्रयास गर्दागर्दै बगान पस्यो । उहाँले निभाउने प्रयास गर्नुभयो तर आगोले अलैँचीको बगान सकेपछि मात्रै निभ्यो । बगानमा आगो लाग्दा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक सबैले देखे । बीमा गरेकाले प्रहरी मुचुल्का, कृषि प्राविधिक तथा वडाध्यक्षको सिफारिस सबै तयार गर्नुभयो । बीमा कम्पनीलाई फोन गर्दा जवाफ आयो, “अहिले कोभिडको बेला छ, बगान नछुनस्, हामी आएर हेर्छौं ।” वैशाखमा आश्वासन दिनुभएका प्रभु इन्स्योरेन्सका प्रतिनिधि अहिलेसम्म पौडेलको बगान पुगेका छैनन् ।

जिल्लामा कोरोनाको त्रास नगन्य भएर सबै क्रियाकलाप सञ्चालनमा आउँदासमेत इन्स्योरेन्स कम्पनीले उहाँको बगानमा प्रतिनिधि पठाएको छैन् । ‘‘कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन्,’’ पौडेलले भन्नुभयो, ‘‘मैले खरानी सफा गर्न समेत पाइन । इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइन ।’’

पौडेलले रु नौ लाख ९६ हजारको बीमा गर्नुभएको थियो । आगलागी भएको सात महिनासम्म पनि बीमा रकम नपाएकोमा उहाँ आक्रोशित हुनुहुन्छ । नेपाल सरकारले प्रिमियममा दिएको ७५ प्रतिशत अनुदान लिएका पौडेलले कृषि ज्ञान केन्द्र बागलुङलाई जानकारी गराउनुभएको थियो । ‘‘उहाँको गुनासो धेरै आएको छ । हामीले ताकेता मात्रै गरेका छैनौं । मन्त्रालयबाट बीमा कम्पनीसँगै कुराकानी भएको खबर छ,’’ कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, ‘‘यस्तै घटना देखेर किसानले बीमा गर्नै मान्दैनन् ।’’ बीमाको प्रिमियम शुल्क शतप्रतिशत सरकारले व्यहोर्दा भुक्तानी नपाइने भन्दै उहाँले किसानले बाली तथा पशुपक्षी बीमा गर्न चासो नदेखाएको बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा किसानको प्रिमियम भुक्तानीको लागि आएको रु ६ लाखमध्ये केही रकममात्रै खर्च भएको थियो । इन्स्योरेन्स कम्पनीको लापरवाहीकै कारण यसवर्ष पनि एकजना किसानले मात्रै बाली बीमा गरेका छन् । अरु किसानको बीमामा चासो छैन । किसानको मात्रै होइन, प्रभु इन्स्योरेन्समा कोरोना बीमा गरेका बागलुङका पत्रकारले पनि बीमा रकम पाएका छैनन् । बीमा पोलेसीमा उल्लेखित अवधिभित्रै कोरोना सङ्क्रमण भएका ६ जना पत्रकारको दाबी पेश भएको भए पनि प्रभु इन्स्योरेन्सले बहनाबाजी गरेर भुक्तानी नदिएको पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव विजय रानाले बताउनुभयो ।

‘‘प्रक्रिया पुगेको एकदेखि दुई सातासम्म भुक्तानी पाउनुपर्ने हो तर अहिले त फोनसमेत उठ्न छोडिसक्यो’’, उहाँले भन्नुभयो, ‘‘भुक्तानी दिन नसक्नेले किन अभियान चलाएर बीमालेख भराएका होलान् ?’’

‘किसानले फाइल ढिलो ल्याउँछन्’

प्रभु इन्स्योरेन्सले भने आगलागी भएका किसानले नै फाइल ढिलो पठाएका कारण भुक्तानीमा ढिलाइ भएको जवाफ दिने गरेको छ । ‘‘हामी बगानमै पुग्नुपर्दैन, फोटो भिडियो भए पनि पुग्छ’’, प्रभु इन्स्योरेन्सका बीमा दाबी हेर्ने अधिकारी बतशल ढकालले भन्नुभयोे, ‘‘उहाँको फाइल ढिला आएको हो, हामीले रोकेको हैन ।’’ पत्रकारको कारोना बीमाका विषयमा अर्थ मन्त्रालयले निर्णय गर्न ढिलाइ गरेका कारण भुक्तानी दिन नसकेको उहाँले सुनाउनुभयो । ‘‘बीमा कम्पनी, पुर्नबीमा कम्पनी, राष्ट्रिय बीमा बोर्ड र अर्थ मन्त्रालयको दायित्व तेकिएको थियो’’, उहाँले भन्नुभयोे, ‘‘२० वटै कम्पनीको एउटै नियम हो, अहिलेसम्म कम्पनीले रु ९ अर्ब दायित्व भुक्तानी गरिसके, बाँकी भुक्तानीको काम त अर्थको हो ।’’ बाली तथा पशुपक्षी बीमालाई चुस्त बनाउनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology