• Monday 27th of July 2026

राप्ती प्रादेशिक अस्पातलमा प्रसूति सेवा लिने बढे


  • गोकर्णेश्वर अनलाइन

दाङ, १२ कात्तिक (रासस) : तुलसीपुर उपमहानगरपालिका–१७ की १८ वर्षीया सीता चौधरीले गत आइतबार राप्ती प्रादेशिक अस्पतालमा प्रसूतिका लागि भर्ना भइन् । झण्डै १० घण्टासम्म प्रसव पीडा भयो, सामान्य तरिकाले प्रसूति गराउन धेरै कोसिस ग-यौँ ।
सानै उमेरमा गर्भवती भएकीले सामान्य तरिकाले नभई शल्यक्रिया गर्नुपर्छ की जस्तो लागेको थियो तर सामान्यरुपमा भ्याकुम अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ र बच्चा सहजरूपमा जन्मियो, अस्पताल प्रसूति विभागका नर्सिङ अधिकृत रमा पराजुलीले भन्नुभयो । नवजात शिशुको तौल तीन केजी रहेको र आमा तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।

सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दापढ्दै गाउँकै आफ्नै समुदायका केटासँग प्रेम बिहे गरेकी हुन् । उनका श्रीमान् सहचालकको काम गर्छन् । “घरको आर्थिक अवस्था कमजोर छ, अहिले पढ्न छोडेकी उनले अस्पतालको प्रसूति कक्षमा पुगेका रासस समाचारदातासँग भनिन् । सानै उमेरमा बिहे गरेँ सुत्केरी हँुदा निकै गाह्रो हुने रहेछ कोरोनाको अझै डर छ । यस्तो अवस्थामा अस्पतालले सुरक्षित तवरले प्रसूति गरायो, अब ढुक्क भएँ केही दिन अस्पतालमा राखेर डिस्चार्ज गर्छ होला।” उनले भनिन् ।

त्यसैगरी सोही अस्पतालमा गत मङ्गलबार तुलसीपुर नगरपालिका–१४ की २३ वर्षीया आशा नेपालीले पजि शल्यक्रियाबाट छोरी जन्माइन् । उक्त अस्पतालको प्रसूति कक्षमा बुधबार भेटिएकी उनले कोरोनाको त्रास अझै छ यस्तो बेलामा अस्पातल कसरी जाने होला भन्ने चिन्ता लाग्ने, घरमा बस्दा पनि मनमा अनावश्यक सोचाइ आउने गरेको बताइन् । “अहिले कोरोनाको जोखिम अलि कम भए पनि सचेत हुनुपर्छ, डक्टरले बाहिर लग्नुहोस् भने कसरी जाने होला भन्ने त्रास थियो, शल्यक्रिया गरेर भए पनि आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माएँ खुसी छु।” उनले मलिन स्वरमा भनिन् ।

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५०० भन्दा बढी महिलाले सुत्केरी सेवा लिएको उक्त अस्पतालले जनाएको छ । मेडिकल रेकर्डर भूषण सुवेदीका अनुसार साउन महिनादेखि असोजसम्ममा ५३५ जनाले प्रसूति सेवा लिएकामा १४ जनाको जटिल अवस्था र ७३ जनाको शल्यक्रियाबाट प्रसूति सेवा लिएका थिए । सो अवधिमा १३ गर्भवतीलाई अन्यत्र रेफर गरिएको थियो । अस्पतालमा अतिसघन कक्ष र नवजात शिशु कक्षको व्यवस्था नभएका कारण विशेष गरी गर्भवती महिलामा बढी रक्तचाप भएर जटिल समस्या भएका गर्भवतीलाई मात्र अन्य अस्पतालमा रिफर गरिएको बताइएको छ ।

यहाँ प्रसूति सेवा लिनका लागि केही दिनयता दैनिक पाँचदेखि सात जना आउने गरेको अस्पतालका निमित्त मेसु स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले जानकारी दिनुभयो । उहाँले प्रसूति सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भए पनि सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

प्रसूति सेवा लिन आउनेमध्ये केही १८ वर्षका पनि रहेको र यसरी सानै उमेर आमा बन्ने महिलालाई बच्चा जन्माउँदा पनि समस्या हुने हुँदा शल्यक्रिया गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ थियोे । त्यस्तै पाठेघर खस्ने समस्या पनि बढी हुने भएकाले उमेर पुगेर मात्र बच्चा जन्माउनुपर्नेमा मेसु सिंहले जोड दिनुभयो । उक्त अस्पताल विसं २०६५ मा जनस्तरबाट स्थापना गरिएको थियोे । अस्पताल स्थापनाका लागि यहाँका नागरिहरुले निकै सङ्र्घष गर्नाका साथै महायज्ञको आयोजना गरी करिव रू तीन करोड सङ्कलन गरेर भौतिक पूर्वाधार निर्माण गरेपछि मात्र सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पतालका रुपमा विकास गरेको थियो ।

तुलसीपुर क्षेत्रको एक मात्र सरकारी अस्पताललाई दुई वर्षअघि लुम्बिनी प्रदेश सरकारले स्तरवृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालका रुपमा विकास गरेकोे हो । प्रादेशिक अस्पतालका रुपमा विस्तार भएसँगै त्यहाँ भौतिक पूर्वाधार निर्माण तथा स्वास्थ्य उपकरणहरु थपिएका छन् ।

हाल यस अस्पतालमा १७ विशेषज्ञ चिकित्सक, ११ मेडिकल अधिकृत सहित कूल १४५ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । हाल यस अस्पतालमा सघन कक्ष, अतिसघन कक्ष र छुट्टै कोरोनाको कक्षसहित ६० वार्ड सञ्चालन गरिएको छ । अस्पतालमा दाङ, रोल्पाको पश्चिम भाग, पूर्वी रुकुम र कर्णाली प्रदेशको सल्यान जिल्लाका नागरिकसमेत सेवा लिन आउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology