• Wednesday 29th of July 2026

काठमाडौं ३ मा एमालेको कार्यक्रममा रामेश्वर फुयाल कि कृष्ण राई प्रमुख अतिथी ? कार्यकर्ता अन्योलमा


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण मिडिया । जुँगाको लडाइँले फुटेको एमालेको तल्लो तहसम्म जुँगाकै लडाइँ सुरु हुन थालेको छ । कुरा हो काठमाडौं क्षेत्र नम्बर ३ को । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भित्र तिब्र गुटबन्दी मौलाउँदै गएको छ । कार्यकर्ता समेत नेताको जुँगाको लडाइँबाट आजित बन्न थालेका छन् ।

कुरा हो कृष्ण राई र रामेश्वर फुयालको । दुबैजना काठमाडौं ३ मा एउटै पार्टी र एउटै विचार समूहमा भएतापनी तिब्र प्रतिस्पर्धा रहेको छ । रामेश्वर फुयाललाई कृष्ण राईले संघ बाट प्रदेशमा झारेको रिस फेर्नु छ भने कृष्ण राईलाई रामेश्वर फुयालले  कहिल्यै अगाडि बढ्न नदिएको र राजनितीमा केही वर्ष पछी पारेको र पार्टीको ९ औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा धुलीसाफ हुने गरि हराएको रिस फेर्नु छ । आजकल त्यसको झझल्को विभिन्न कार्यक्रममा समेत देखिन थालेको छ ।

कृष्ण राई एमालेको केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्ला अध्यक्ष हुन् भने रामेश्वर फुयाल पार्टी केन्द्रिय सदस्य एवम् काठमाडौं जिल्ला सह-इन्चार्ज हुन् । संसदीय फाँटमा कृष्ण राईको प्रोटोकल ठूलो भएतापनी पार्टीको बरियतामा रामेश्वर फुयालको बरियता ठूलो हो । कृष्ण राई प्रतिनिधि सभा सदस्य हुन् भने रामेश्वर फुयाल बागमती प्रदेश सभा सदस्य एवम् बागमती प्रदेशको पुर्व भौतिक पुर्वाधार विकास मन्त्री हुन् । पार्टीको आफू निकट कमिटिको भेलामा दुबै कहिले प्रमुख अतिथी त कहिले विशेष अतिथिको रुपमा देखा पर्छन् । यसले कार्यकर्तालाई समेत आजित पार्न थालेको छ । दुई जनाको तमासा देखेर कार्यकर्तामा निराशा छाएको छ ।

केही दिन अगाडीमात्र नेकपा एमाले गोकर्णेश्वर नगर कमिटीले आयोजना गरेको देउसी भैलो कार्यक्रममा रामेश्वर फुयाल प्रमुख अतिथी बनेर सम्बोधन गरेका थिए र कृष्ण राई विषेश अतिथि थिए । लगत्तै भएको नेकपा एमाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को कमिटीले आयोजना गरेको कार्यक्रम भने ठ्याक्कै उल्टो भएको थियो । गोकर्णेश्वर ५ पार्टी कमिटीको कार्यक्रममा कृष्ण राई प्रमुख अतिथि थिए भने रामेश्वर फुयाल विषेश अतिथि । दुई नेताको यो लडाइँले नेकपा एमाले काठमाडौं ३ कमजोर बन्न थालेको छ ।

एक स्थानीय नेता नाम नबाताउने सर्तमा अब काठमाडौं ३ मा छुट्टै विधान बनाउनु पर्ने बताउँछन् । दुई जनामै नैतिकताको प्रश्न उठेको ती नेता बताउँछन् । विभिन्न कार्यक्रममा उपस्थिति हेर्दा एमाले इतिहासकै कमजोर स्थितिमा पुगेको छ ।

कार्यकर्ता वृत्तमा अब दुबै जनालाई पार्टी पंतिमा अगाडि बढाएर संसदीय फाँटमा नयाँलाई अवसर दिनुपर्ने माग उठ्न थालेको छ । जो जता भएपनी अब यो प्रमुख अतिथीको विवाद नसल्टाए एमाले झन् कमजोर बन्ने कार्यकर्ता बताउँछन् ।

प्रमुख अतिथीको विवाद कहिलेसम्म चल्छ त्यो भने हेर्न बाँकी छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology