• Wednesday 29th of July 2026

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो ।

गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक सदस्यले मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सदस्यसँग पक्षमा मत माग्नुभएको थियो ।

मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनको सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिनुभयो ।

विश्वासको मतको प्रस्तावमा छलफल

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जिद्धी स्वभावले नै नेकपा एमालेको दुई तिहाइ बहुमतको सरकार गुमेको चर्चा गर्दै राजनीतिक परिवर्तन भए पनि राजनीतिक दलका नेतामा चेतनाको वृद्धि नभएको बताउनुभयो । उहाँले वर्तमान गठबन्धन संविधान रक्षाका लागि भएकाले मुख्यमन्त्रीमा राईलाई विश्वासको मत दिएको बताउनुभयो । नेता कोइरालाले यो गबन्धनले निरन्तता पाउने विश्वास व्यक्त गर्नुभयो ।

एमालेका तर्फबाट प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले एमाले सहमति र सहकार्यको विरोधी नभएको बताउनुभयो । उहाँले लोकतन्त्रलाई सुदृढीकरण र बलियो बनाउन राजनीतिक दलमा पनि सुदृढीकरण हुनुपर्ने तर्क गर्दै एमाले सदनमा प्रमुख प्रतिपक्षको भूमिका रचनात्मक ढङ्गले प्रस्तुत हुने धारणा राख्नुभयो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology