• Wednesday 29th of July 2026

आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौः अध्यक्ष नेपाल


  • गोकर्णेश्वर अनलाइन

नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ ।

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रममा उहाँले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको र गलत गरे कारबाही गर्ने जानकारी गराएको बताउनुभएको हो ।

उहाँले सरकारमा रहेका आफ्ना मन्त्रीले कुनै पनि गलत काम गरेमा कारबाही गरेर फिर्ता बोलाइने बताउँदै शिक्षा र स्वास्थ्यमा ज्यादै मुनाफा हुनेगरी निजीकरण गरिएकाले सरकारले त्यसलाई निरुत्साहित गरी जनताको सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

“स्वास्थ्य क्षेत्रमा भएका गलत कामलाई सुधार्न र विगतदेखि समस्या झेल्दै आएका कर्मचारीको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री प्रतिवद्ध भएर काममा लागेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्र भएका गलत कामकारवाहीलाई अब रोकिन्छ ।”

अध्यक्ष नेपालले नेकपा एमालेमा रहने सच्चा कम्यनिष्टलाई ढोका बन्द गरेपछि बाहिर आउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “ आफूहरुलाई एमालेमा बस्न ढोका बन्द गरेपछि सन्यास लिने कि आत्मसमर्पण गरेर केपी ओलीको टाङमुनी छिरेर बस्ने भन्ने भयो, हामीले त्यसलाई अस्वीकार गर्यौ र बाध्य भएर नयाँ पार्टी गठन गर्यौँ ।”

अहिले एमालेले बिद्रोह गरेको पार्टी सकिन्छ भन्ने भ्रम फैलाउदै हिडेको भन्दै उहाँले भ्रम छर्नु पर्दैन, पुष्पलालले अगाडि बढेकै बाटो नेकपा समाजवादीले हिडेकाले त्यस्तो अवस्था नआउने दाबी गर्नुभयो । अध्यक्ष नेपालले नेकपा समाजवादीमा आउनेको देशव्यापी लहर चलेको उल्लेख गर्दै राम्रो संस्कार जति समाजवादीमा ल्याएको र आउने क्रम जारी रहेको बताउनुभयो । आज सम्पन्न हुने भेलाले घोषणापत्र जारी गर्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology