• Monday 27th of July 2026

खोटाङका सबै पालिकामा कोरोनाविरुद्ध खोप लगाइने


  • गोकर्णेश्वर अनलाइन

यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ ।

अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो ।

“स्थानीय तहमा आयोजना गरिएको खोप अभियानमा छुटेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहमा आयोजना गरिएको खोप अभियान सम्पन्न भएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चौबिसै घण्टा खोप उपलब्ध गराउने तयारी गरेका छौँ ।”

दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७७४ र दोस्रो मात्राको खोप ४० हजार ९७९ जनालाई उपलब्ध गराइएको डिसिसिएमसीका संयोजक दाहालले बताउनुभयो ।

“ सरकारले हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा डेस्क स्थापना गरेर क्रमशः उपलब्ध गराउने तयारी गरेका छौँ ।”

विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लामा सबै नागरिकलाई पुग्ने खोप भने नरहेको जनाइएको छ । जिल्लाका लागि आवश्यक खोप उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले जानकारी दिनुभयो ।

गत वैशाखयता तीन हजार ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको यस जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । विभिन्न समयमा विभिन्न स्थानीय तहका गरी १५ जना स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका जिल्लामा हालसम्म बन्दाबन्दी भने गरिएको छैन ।

जिल्लामा लकडाउन नगरिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जनाइएको छ । पहाडी जिल्लामा २०० तराई तथा ठूला शहर भएका जिल्लामा ५०० सङ्क्रमित पुगेको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेको थियो ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै जिल्लाका स्थानीय तहका विभिन्न ठाउँमा निर्माण गरिएका २३४ श्ययाको संस्थागत आइसोलेशन खाली रहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्लाका स्थानीय तहमा स्थापना गरिएका अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई समेत सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology