• Saturday 25th of July 2026

दलित मुक्तिका लागि सामाजिक र राजनीतिक प्रणालीको परिवर्तन आवश्यक : अध्यक्ष यादव


  • गोकर्णेश्वर अनलाइन

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्यमान सामाजिक र राजनीतिक प्रणालीको परिवर्तनबिना दलित समुदायको मुक्ति असम्भव भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था : समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीमा आज सहजीकरण गर्दै अध्यक्ष यादवले दलित समुदायको मुक्तिको बाधक मुलुकको विद्यमान सामाजिक र राजनीतिक प्रणाली रहेकाले यसको परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

“विद्यमान सामाजिक र राजनीतिक प्रणालीले दलित, उत्पीडित तथा अल्पसङ्ख्यक समुदायको उत्थान र विकास सम्भव देखिँदैन,” अध्यक्ष यादवले भन्नुभयो, “दलित समुदायसँगै सिङ्गो मुलुक नै बाधक रहेको अहिलेको सामाजिक र राजनीतिक प्रणाली हो, त्यसैले यसमा परिवर्तन आवश्यक छ ।”

बढ्दो पूँजीवादी व्यवस्थाका कारण निर्वाचन अत्यन्तै महँगो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दैै अध्यक्ष यादवले यस्तै अवस्था रहिरहे मुलुकको राजनीतिलाई पूँजीवादले धराशायी बनाउने बताउनुभयो । राज्यमा सम्मानजनक प्रतिनिधित्वका लागि दलित र महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने उल्लेख गर्दै उहाँले यस्तो गर्न सकिएमात्र दलित र महिलाको राज्यमा बलियो उपस्थिति हुन सक्ने जिकिर गर्नुभयो ।

विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकाले मुलुकलाई समृद्ध बनाउन भेदभाव तथा असमानताको अन्त्य हुनुपर्ने चर्चा गर्दै उहाँले दलित समुदाय भूमिहीन र आर्थिकरूपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एन्ड डेभलपमेन्टको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, राष्ट्रिय योजना आयोगका डा उमाशङ्कर प्रसाद, प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले दलित सशक्तीकरणका विषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश २ का दलित समुदायको अगुवाहरुको सहभागिता रहेको इनोभेटिभ रिसर्च एन्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology