• Saturday 25th of July 2026

भैँसीपालनबाट मनग्य आम्दानी


  • गोकर्णेश्वर अनलाइन

वालिङ, २ पुस (रासस) : स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएको छ । दुई भैँसी पालनबाट व्यवसाय थाल्नुभएकी उहाँले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैँसी पाल्दै आउनुभएको छ । “सुरुमा दुई भैँसीबाट व्यवसाय सुरु गरेकी हुँ”, उहाँले भन्नुभयो, “भैँसीको दूध बिक्रीबाट आम्दानी भएको पैसालाई फर्ममा थप गर्नुका साथै भैँसीको पनि सङ्ख्या थप गरेकी हुँ ।” उहाँका फर्ममा अहिले आठ दुहुना भैँसी छन् । दुई थपेर दश पु-याउने तयारीमा उहाँ हुनुहुन्छ ।

“आफ्नै सुरले भैँसी पाल्दै आएकी थिएँ, महिलाले सञ्चालन गरेको फर्मलाई केही सुविधा हुन्छ भन्ने सुनेर फर्म दर्ता गरेर चलाएकी हुँ”, उहाँले भन्नुभयो, “म एक्लैले भैँसी पाल्न थालेपछि गाउँलेले नसक्ने काम किन गरेकी होला ? भन्नुहुन्थ्यो आज मेरो सफलता देखेर ठीक व्यवसाय हैछ भन्न थाल्नुभएको छ ।” कतिपय महिला दिदीबहिनी गफ लाएर कुराकानी गरेरै समय बिताउने गरे पनि आफूलाई भने गफ लाउन र कसैको जान नि फुर्सद नहुने उहाँ बताउनुहुन्छ । श्रीमान्, दुई छोरीहरु विदेश र छोराले पनि पढ्दै जागीर गर्ने गरेको उहाँले सुनाउनुभयो ।

“श्रीमान्ले भैँसी पाल्न दुःख हुन्छ, सकिँदैन नपाल भनेर गाली गर्नुहुन्छ”, व्यवसायिअर्यालले भन्नुभयो, “आफूले पैसा कमाउन सके आफैं बलियो भइने, आत्मनिर्भर हुनुका साथै सन्तुष्टि मिल्ने भएकाले पनि व्यावसायिकरुपमा भैँसी पाल्दै आएकी हुँ ।” श्रीमान् विदेश जानासाथै छोराछोरी लिएर सहर पस्ने र बसेरै खाने परिपाटी नेपाली ग्रामीण समाजमा बढ्दै गइरहेका बेला उहाँ नमूना महिला हुनुहुन्छ । आफैँले कमाएको पैसाले घर खर्च चलाउनुका साथै भैँसी खरीद, घाँस, दाना खरिदसँगै केही रकम बचत गर्दै आएको उहाँले बताउनुभयो ।

“कुनै पनि काम सानो ठूलो हुँदैन, तर जुन काम गरिन्छ त्यसमा ध्यान दिएर मेहेनतका साथ गर्नुपर्छ तबमात्रै सफल भइन्छ”, उहाँले भन्नुभयो, “मैले कमाएको पैसाले घरखर्चसहित अन्य खर्च तथा लगानी गरेकी छु, श्रीमान्ले विदेशबाट पठाउनुभएको पैसाजस्ताको तस्तै राखिदिएकी छु, चलाउनुपरेको छैन ।” उहाँले हालसम्म रु १५ लाख लगानी गर्नुभएको छ । दूध, घ्यू तथा मल बिक्रीबाट मासिक रु एक लाख बढी आम्दानी गर्नुहुन्छ । उहाँको फर्मबाट उत्पादन भएको दूध नजिकैको त्रियासी बजार तथा वालिङमा खपत हुने गरेको छ । दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ भने प्रतिलिटर दूध रु ७० देखि ९० सम्म बिक्री हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology